तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरमा ट्रमा सेन्टर स्थापना गरिने

भक्तपुर । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरमा पहिलो ट्रमा सेन्टर सञ्चालनमा ल्याइने बताउनुभएको छ ।

नेपाल प्रेस सोसाइटीले आज सूर्य विनायकमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उहाँले पूर्वको सवारी साधनको मुख्य आगमन भक्तपुर भएकाले यहाँ हुने दुर्घटनाका बिरामीलाई लक्षित गरेर ट्रमा सेन्टर सञ्चालनमा ल्याइने बताउनुभयो ।

मन्त्री थापाले सूर्यविनायक नगर अस्पताललाई भक्तपुरकै पहिलो ट्रमा सेन्टरको रुपमा स्तरोन्नति गर्ने बताउनुभयो । उहाँले दुर्घटनामा परेको बिरामीको उपचारका लागि वीर अस्पतालमा पर्याप्त ठाउँ नहुने र निजी अस्पतालले मंहगो शुल्क लिने भएकाले सरकारी स्तरमै प्रदेश सरकाबाट भक्तपुरमा पहिलो ट्रमा सेन्टर सञ्चालनमा ल्याउने बताउनुभयो ।

उहाँले केन्द्रीय सरकारले समयमै बिमाको रकम भुक्तानी नगर्दा जिल्ला अस्पतालहरूलाई फार्मेसी सञ्चालनमा निकै समस्या परेको बताउनुभयो ।

मन्त्री थापाले प्रदेश स्तरीय स्वास्थ्य विधेयक छिट्टै पास गराएर जिल्ला अस्पताललाई नर्सिङ कलेज सञ्चालनको बाटो खोलिदिने बताउँदै प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा छुट्याएकोृ रु. चार अर्ब आठ करोडको बजेटलाई व्यवस्थित रुपमा परिचालन गरिने बताउनुभयो ।

कार्यक्रममा सोसाइटीका अध्यक्ष उपेन्द्र केसी, सूनपा‐८ का वडाध्यक्ष पुष्पराज बस्नेत लगायतले मन्त्री थापाले स्वास्थ्य क्षेत्रमा रहेको समग्र बेथितिको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button