तपाईँ सुन्दै हुनुहुन्छः

झापामा ९२ प्रतिशत भूभागमा रोपाइँ

झापा । झापामा ९२ प्रतिशत भन्दा बढी क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ ।

साउनको दोस्रो सातासम्म झापामा धान खेती हुने कुल ७५ हजार हेक्टर क्षेत्रफलमध्ये ६९ हजार हेक्टर खेतमा धान रोपाइँ भएको छ । जुन ९२ प्रतिशत रहेको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख सागर बिष्टले बताउनुभयो ।

गत वर्ष ८५ हजार ७५० हेक्टरमा बर्खे धान खेती गरिएको थियो भने चार लाख ६३ हजार मेट्रिक टन धान उत्पादन भएको कार्यालयले जनाएको छ । अघिल्लो वर्ष भन्दा यो वर्ष धान रोपाइँ कम भएको हो । यसैगरी यस वर्ष अघिल्लो वर्षको तुलनामा चैते धान खेतीको समेत क्षेत्रफल बढेको छ । अघिल्लो वर्ष झापामा १९ हजार ८ सय हेक्टरमा चैतेधान खेती गरिएकोमा यस आर्थिक वर्षमा २० हजार हेक्टरमा चैते धान खेती गरिएको कृषि कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

झापामा यस आर्थिक वर्षमा १ लाख १६ हजार मेट्रिकटन चैते धान उत्पादन गरिएको छ । झापामा यस आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रको सहयोगमा छ वटा पालिकाका एक सय पाँच बिघामा मेसिनले रोपाइँ गरिएको छ । कृषकलाई प्रविधि अभ्यस्त गराउने उद्देश्यले जिल्लाको भद्रपुरमा १० बिघा, बिर्तामोडमा ७ बिघा, शिवसताक्षीमा १२ बिघा, गौरीगञ्जमा १० बिघा, गौरादहमा ३० बिघा र मेचीनगरमा ३६ बिघा मेसिनको प्रयोग गरेर नमूना धान खेती गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनुभयो ।
कृषकलाई मेसिनबाट रोपाइँ गर्दा लाग्ने रकमको ५० प्रतिशत अनुदान दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button