तपाईँ सुन्दै हुनुहुन्छः

पपुवा न्युगिनीमा भएको झडपमा २६ जनाको मृत्यु

सिड्नी । पपुवा न्यू गिनीको पूर्वी सेपिक प्रान्तमा भएको झडपमा महिला र बालबालिकासहित कम्तीमा २६ जनाको सामूहिक हत्या भएको स्थानीय सञ्चारमाध्यमले बुधबार जनाएका छन् ।

समाचार संस्था, नेशनलका अनुसार प्रान्तको अङ्गोरम क्षेत्रको सेपिक नदी किनारमा रहेका तामारा, ताम्बरी र अग्रुमारा गाउँहरूमा भएको झडपले हत्या, बलात्कार र सम्पत्तिको विनाशको अवस्था निम्त्याएको हो ।

तीस जनाभन्दा बढी स्थानीय युवाहरूलाई उक्त घटनाको दोषी ठहराइएको नेशनलले जनाएको छ ।

सामूहिक हत्या र सम्पत्ति विनाश हुने गरी भएको झडप भूमि विवादसँग सम्बन्धित रहेको अङ्गोरमका सांसद सालियो वाइपोले जानकारी दिनुभएको छ ।

वाइपोले ३३ जना संदिग्ध आक्रमणकारीहरूको पहिचान गरिएको र अनुसन्धानका लागि प्रहरी टोली तैनाथ गरिएको खुलासा गर्नुभयो ।

उहाँले पीडितका परिवारलाई शान्त रहन आह्वान गर्दै आवश्यक सहयोगका लागि तोकिएको प्रहरी अधिकारीसँग सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।

पपुवा न्युगिनीको उत्तरपूर्वी तटमा अवस्थित ४३ हजार वर्ग किलोमिटरमा फैलिएको पूर्वी सेपिक प्रान्तको अनुमानित जनसङ्ख्या चार लाख ३३ हजार ४८१ रहेको छ । रासस सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button