तपाईँ सुन्दै हुनुहुन्छः

जयेन्दु बाल सुधार गृहमा रहेका बालकमा छाला रोगको संक्रमण, भेरी अस्पतालद्वारा निःशुल्क उपचार

बाँके। जयेन्दु बाल सुधार गृहमा रहेका ११९ जना बालकहरूको निःशुल्क रुपमा उपचार गरिएको छ । 

जिल्ला बाल न्याय समिति, बाँके जिल्ला अदालत र एडभोकेसी फोरमले भेरी अस्पताल सँगको सहकार्यमा बाँके स्थित जयेन्दु बाल सुधार गृहमा भएको शिविरबाट ११९ जनाले स्वास्थ्य सेवा पाएको अधिवक्ता वसन्त गौतमले जानकारी दिनु भयो ।

स्वास्थ्य शिविरमा भेरी अस्पतालका यौन तथा छाला रोग विशेषज्ञ डाक्टर अस्मिता गौतम र अस्पताल नर्सिङ निरीक्षक वसुन्धरा ज्ञवालीको टोलीले उपचार गरेको थियो । स्वास्थ्य जाँचका क्रममा बालकहरूमा लुतो, इक्जीमा, धमौरा, फङ्गल इन्फेक्सन, किराको एलर्जी, डन्डिफोर, छालामा ब्याक्टेरियल इन्फेक्सनको समस्या देखिएको उपचारमा संलग्न डाक्टर अस्मिता गौतमले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरको उद्घाटन गर्दै बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश भीष्मराज प्रसाईँले जानी नजानी कानूनी विवादमा परेका बालकहरूले विगतलाई बिर्सेर असल नागरिक बन्नु पर्नेमा धारण राख्नु भएको थियो । सुधार गृहमा बालकहरूले गल्तीको महसुस गर्दै आचरणमा सुधार गरेको अवस्थामा अदालतले सजाय स्थगित गर्न सक्ने कानूनी प्रावधान रहेको न्यायाधीश प्रसाईँको भनाई थियो । अहिलेसम्म बाँके जिल्ला अदालतले ६ जना बालकको सजाय स्थगित गरेको न्यायाधीश प्रसाईँले जानकारी दिनु भयो । सुधार गृहमा छाला रोगको संक्रमण फैलिएर बालकहरूको स्वास्थ्यमा समस्या देखिए पछि स्वास्थ्य शिविर सञ्चालन गरिएको न्यायाधीश प्रसाईँले बताउनु भएको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले शिविरबाट छाला रोगबाट पीडित बाल बन्दी लाभान्वित हुने भन्दै बालकहरू असल नागरिक बन्न सकेमा समाजमा पुनर्स्थापना हुन सहज हुने जिकिर गर्नु भयो ।

छाला रोग बाहेक अन्य गम्भीर प्राकृतिकका बिरामीलाई थप उपचारका लागि भेरी अस्पतालमा आउन सुझाव दिइएको डा. गौतमले बताउनु भयो । केही दिन पहिले भएको जिल्ला बाल न्याय समिति बैठकमा भेरी अस्पतालका मेसु डा। प्रकाश थापाले गम्भीर बिरामी बालबन्दीको सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत उपचार गर्न सकिने बताए पछि अदालतको समन्वय उक्त शिविर गरिएको मेसु थापाले बताउनु भयो । 

कार्यक्रममा बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश भीष्मराज प्रसाईँले कानूनी विवादमा रहेका ५ जना बालकहरूलाई एडभोकेसी फोरम नेपालको सहयोगमा समाजमा पुनर्स्थापना लागी प्रति वालक बिस हजार रुपैयाँका दरले उपलब्ध गराइएको एक लाखको बैङ्क विवरण सुधार केन्द्रकी इन्चार्ज बिमला काउचा मगरलाई हस्तान्तरण गर्नु भएको थियो । 

उक्त रकम बालक छुट्ने बेला वितरण गरिने सुधार गृह इन्चार्ज मगरले बताउनु भयो । फोरमले बाल सुधार गृहबाट छुटेका बालकहरूलाई सानो तिनो पेशा व्यवसाय गरि समाजमा पुनर्स्थापना हुन सहज होस भन्ने उद्देश्यले जयेन्दु बाल सुधार गृहमा बालकहरूलाई सहयोग गर्दै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button