तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशमा सञ्चालित अधिकांश प्रयोगशाला मापदण्ड विपरीत

जनकपुरधाम । मधेश प्रदेशमा सञ्चालित अधिकांश प्रयोगशालाहरूले नेपाल सरकारले बनाएको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड पालना नगरेको पाइएको छ । 

मधेश जनस्वास्थ्य प्रयोगशालाले आज जनकपुरधाममा आयोजना गरेको नीजि तथा सरकारी प्रयोगशालाको मापदण्ड तथा गुणस्तरसम्बन्धी गोष्ठीमा प्रयोगशालाहरूले मापदण्डको पालना कमै मात्रामा गरेका पाइएको जानकारी दिइयो ।

प्रयोगशालाको शुल्कमा भिन्नता रहेकोले एकरूपताका लागि शुल्कको निर्धारण राज्य स्तरबाट नै हुनुपर्ने माग मेलानका अध्यक्ष सुरेश शर्माले गर्नुभयो । उहाँले जनकपुरधामका कतिपय प्रतिष्ठित चिकित्सकहरूले नै कमिसनका लागि एक्कै रोगको परीक्षण फरक फरक प्रयोगशालामा गराउने गरेका कारण जनता ठगीमा पर्ने गरेको बताउनुभयो । 

पुष्पाञ्जली प्रयोगशालाका विवेक ठाकुरले प्रयोगशालाहरूमा रहेका फरक फरकको शुल्कका कारणले आम उपभोक्ताहरू मारमा पर्ने गरेको बताउँदै स्तर अनुसारको परीक्षण शुल्क सरकारले नै निर्धारण गरिदिनुपर्ने सुझाव दिनुभयो । 

प्रयोगशालाकर्मी सुनिल महतोले पहिलाको तुलनामा जनकपुरधामका प्रयोगशालाहरूको गुणस्तरमा सुधार भएको बताउँदै सरकारी स्तरबाट प्रयोगशाला स्थापना भएपछि नीजि क्षेत्रको प्रयोगशालाहरूमा सुधार गर्नुपर्ने बाध्यता आएको बताउनुभयो । 

मधेश प्रदेशका स्वास्थ्य निर्देशक डा. राजीव कुमार झाले कानून बारेमा थाहा छैन भन्ने छुट हामी कसैलाई पनि नभएको बताउँदै प्रयोगशालाका लागि नेपाल सरकारले बनाएको निर्देशिका विपरीत भए कारबाही हुने बताउनुभयो । 

अध्यक्षको आसनबाट मधेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. श्रवण कुमार मिश्रले मधेश प्रदेशमा दर्ता भएका प्रयोगशालाको सङ्ख्या २ सय ५० वटा रहेको बताउँदै सरकारी स्तरबाट सञ्चालित प्रयोगशालाले नीजि स्तरको प्रयोगशालालाई कमजोर गर्नका लागि स्थापना नभई कही कतै नभएको परीक्षणको सुविधा दिनका लागि भएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button