तपाईँ सुन्दै हुनुहुन्छः

बालविवाह: जुम्लाका १७ प्रतिशत किशोरी २० नपुग्दै आमा

जुम्ला। बालविवाह न्युनिकरणका लागि सरकार तथा गैरसरकारी संस्थाले करोडौँ खर्चिएपनि बालविवाह न्युनिकरण हुन सकेको छैन । औपचारिकतामा केही सस्ंथाहरुले वडानै बालविवाह मुक्त घोषणा गरेका छन् । तर समुदायमा गरिबी,अशिक्षा,देखासिकी लगायतका कारणले बालविवाहको समस्या उस्तै छ ।

कर्णाली प्रदेशमा ४७ प्रतिशत बालविवाह हुँदा जुम्लामा ६७ प्रतिशत बालविवाह हुने गरेको सरकारी तथ्याङ्क छ । तथ्याङ्क देखाएजस्तो बालविवाह न्युनिकरण हुन सकेको छैन । औपचारिकतामा सीमित संस्था र सरकारका कार्यक्रमले बालविवाह न्यूनीकरणमा अपेक्षित उपलब्धी नभएको हो ।

आठै पालिका र गैरसरकारी संस्थाले बालविवाह न्यूनीकरणको अभियान चलाइरहेकै अवस्थामा जुम्लाका १७ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बन्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । जनस्वास्थ्य कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकनुसार जुम्लाका १७ प्रतिशत किशोरी १७÷१८ वर्षकै उमेरका आमा बन्ने गरेका छन् । स्वास्थ्य चौकीमा गर्भ जाँच गराउन आउने अधिकांश किशोरी २० वर्षमुनिकै रहेको पाइएको छ । जसले गाउँमा बालविवाह कायमै रहेको स्पष्ट हुन्छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार जुम्लामा प्रजनन् उमेर (१५–४९) उमेर समूहका महिला ३४ हजार १९० जना रहेका छन् । जसमध्य १७ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बन्ने गरेका हुन् । जसमा सबैभन्दा बढी पातारासी गाउँपालिकाका २४ प्रतिशत किशोरी २० वर्ष नपुगी आमा बनेका छन् । भने, गुठिचौर गाउँपालिमा ३३ प्रतिशत,तिला गाउँपालिकामा २२ प्रतिशत,तातोपानी गाउँपालिकामा २० प्रतिशत किशोरी २० वर्ष नपुग्दै विवाह गरेका छन् ।

भने कनकासुन्दारी गाउँपालिकामा २० प्रतिशत,हिमा गाउँपालिकामा १७ प्रतिशत,सिंजा गाउँपालिकामा १५ प्रतिशत र चन्दननाथ नगरपालिकामा १३ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बनेका छन् । त्यस्तै जनस्वास्थ्य कार्यालयको आव २०७७÷०७८ को तथ्याङ्क अनुसार जुम्लाका ८६० जना किशोरी २० वर्ष नपुगी आमा बनेका थिए । चन्दननाथ नगरपालिकामा १ सय ९० जना र सबैभन्दा कम तातोपानी गाउँपालिकामा ६६ जना किशोरी रहेका छन् ।

पातारासी गाउँपालिकामा १ सय ३४ कनकासुन्दरीमा ९०, सिँजामा ६८, गुठिचौरमा ९५ जना, तिलामा १ सय ४० र हिमामा ७७ जना गरी जम्मा ८ सय ६० जना जुम्लाका किशोरी गत आवमा उमेर नपुग्दै आमा बनेका थिए । गैरसरकारी संस्थाले परियोजनाको लक्ष्यपुरा गर्न बालविवाह घोषणा गर्ने र त्यसको कार्यान्वयन गर्न स्थानीयतहले ठोस नीति र पर्याप्त लगानी नगर्ने परिपाटीले जुम्लामा बालविवाह चुनौती पूर्ण बन्दै गएको छ ।

बालविवाहकै कारण स्वास्थ्यमा असर पर्नुका साथै,शिक्षा,रोजगारी लगायतका अवसरबाट वञ्चित हुनु परेको स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताउनुभयो । उहाँका अनुसार २० वर्ष नपुग्दै आमा बन्ने सङ्ख्या दलित तथा विपन्न समुदायका बढी छन् । दलित तथा विपन्न समुदाय लक्षित उत्पादनमुखी कार्यक्रम ल्याउन आवश्यक रहेको उहाँको भनाई छ । घोषणा गर्दैमा बालविवाह शुन्य भएको मान्न नहुनेमा उनको जोड छ ।

हालसम्म जुम्लाका ६० वटा वडा मध्य चार वटा वडाहरू बालविवाह मुक्त घोषणा भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button