तपाईँ सुन्दै हुनुहुन्छः

बेलकोटगढीको किसानलाई नौ हजार कफीको बिरुवा अनुदानमा उपलब्ध

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाले नगरभित्रका किसानको मागको आधारमा नौ हजार कफीको बिरुवा उपलब्ध गराएको छ ।

पचास प्रतिशत अनुदानमा कफीका बिरुवा वितरण कार्यक्रम अन्तरगत नगरको विभिन्न स्थानका किसान र कृषि फर्मबाट माग भए अनुसार उनीहरुलाई बिरुवा वितरण गरिएको आर्थिक विकास शाखा प्रमुख डा.अञ्जु शर्मा चापागाईँले जानकारी दिनुभयो । उहाँको अनुसार कफी उत्पादनको लागी अनुकुलित हावापानी र भूगोल भएका स्थानका किसानलाई लक्षित गरेर कफीको बिरुवा अनुदानमा उपलब्ध गराइएको हो ।

पचास प्रतिशत खर्च नगरपालिकाले बेहोर्दै बाँकी हुने आउने प्रति बिरुवा १५ रुपैयाँमा किसानलाई कफीको बिरुवा उपलब्ध गराइएको हो । बिरुवा माग गरेका किसान र कृषि फर्मसम्म नै नगरपालिकाले निःशुल्क ढुवानी गरेको छ ।

हावापानी अनुकूल अनुसार अरबिकाको बोरबन जातको कफीको बिरुवा उपलब्ध गराइएको आर्थिक विकास शाखाका कृषि प्राविधिक सुन्दर श्रेष्ठले जानकारी दिनुभयो । उक्त बिरुवाले ३ वर्षपछि फल दिन सुरु गर्नेछ ।

नगरपालिकाले कफीको बिरुवाको लागी सुहाउँदो हावापानीका किसानसँग माग गरेको निवेदन अनुसार विशेष गरेर नगरको वडा नंं १, २, ११ र १३ का किसान र कृषि फर्मबाट बढी माग भएकाले सोही स्थानमा धेरै बिरुवा उपलब्ध गराइएको छ । ती स्थानमा यसअघि देखि नै किसानले व्यावसायिक रुपमा खेती सुरु गर्दै आइरहेकाले नगरको सहयोगले किसान तथा कृषि फर्म सञ्चालकहरू उत्साहित भएका छन् ।

नगरपालिकामा पछिल्लो समयमा किसानहरुले कफी खेतीलाई व्यावसायिक रुपमा सुरु गरेसँगै उनीहरुलाई सहयोग पुराउनको लागी नगरपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरेर किसानलाई कफीको बिरुवा अनुदानमा उपलब्ध गराउन सुरु गरेको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिनुभयो ।

नगरपालिकाबाट किसानलाई अन्य प्राविधिक सहयोगहरू पनि निरन्तर रहने भएकाले व्यावसायिक रुपमा कफी खेती फस्टाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button