तपाईँ सुन्दै हुनुहुन्छः

‘मुक्तकमलरीलाई समाजमा स्थापित गर्न उचित पहल आवश्यक’

दाङ (तुलसीपुर) । मुक्त कमलरीले मुक्तिको घोषणा गरिए पनि समाजमा स्थापित हुन नसकेको गुनासो गरेका छन् । न्यायोचित पुनःस्थापना गर्न सरकारले पर्याप्त ध्यान नदिएका कारण आफूहरू घरेलु हिंसामा पर्न थालेको उनीहरूको गुनासो छ ।

मुक्तकमलरी सुलोचना चौधरीले सरकार र सरोकार भएकाहरूले न्यायिक पुनःस्थापनाका लागि उचित पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “मुक्त भए पनि हामीलाई शिक्षा र आयआर्जनमा जोड्न उचित पहल भएन, त्यसैमा सानै उमेरमा विवाह गर्नुपरेपछि अहिले दैनिकी चलाउन निकै समस्या भएको छ । धेरै जना घरेलु हिंसा भोग्न बाध्य छन्”, उहाँले भन्नुभयो । 

मुक्तकमलरी विकास मञ्चका केन्द्रीय अध्यक्ष हीरामती चौधरीले कमलरी राख्नेलाई कारबाही नहुँदा आफूहरूले न्यायको महशुस नगरेको बताउनुभयो । “सरकारले मुक्तिको घोषणा त  गर्‍यो तर हिजोका दिनमा हामीलाई काममा राख्नेहरूलाई कुनै कारबाही गरेन, त्यसकारण न्यायको अनुभूति गर्न सकेका छैनौँ । पठनपाठनका लागि छात्रवृत्ति दिने गरेको छ त्यो पनि पर्याप्त र समयमा नदिँदा समस्या हुने गरेको धेरै दिदीबहिनीहरूको गुनासो छ”, उहाँले सुनाउनुभयो । 

दाङमा तीन हजार छ सय ५८ मुक्तकमलरी छन् । उनीहरूको हकहितका लागि मुक्त विभिन्न सङ्घसंस्थाले काम गरिरहेका छन् । मुक्तकमलरी विकास मञ्च पनि त्यसैका लागि स्थापित भएको हो । हाल यो संस्थाले घोराही उपमहानगरपालिकाका–२, ४, ८ र १२ मा कार्यक्रम उनीहरूको आर्थिक तथा सामाजिक विकासका लागि काम गरिरहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । 

आगामी आर्थिक वर्षदेखि तुलसीपुर उपमहानगरपालिकाका–१५, १६ र १८ तथा लमही नगरपालिकाका–३, ४ र ८ मा कार्यक्रम सञ्चालन गर्ने तयारी भएको छ । “मुक्तकमलरीसहित पिछडिएका समुदायको आर्थिक तथा सामाजिक विकासका लागि काम गरिरहेका छौँ । आयआर्जनमा सुधारका लागि विभिन्न प्रकारका आयमूलक तालिम, नीति निर्माण तहमा सहयोग, सामग्री सहयोगलगायत भइरहेका छन् । कार्यक्रम सन् २०२८ सम्म चल्नेछ”, अध्यक्ष चौधरीले बताउनुभयो ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button