तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकमै पहिलोपटक नेपालगञ्जमा घर बीमा कार्यक्रम लागू

नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिकाले पहिलोपटक विपद जोखिम न्यूनीकरणका लागि घर बीमा कार्यक्रम ल्याएको छ ।

मुलुकमै पहिलोपटक ल्याइएको उक्त कार्यक्रम अन्तर्गत उपमहानगरपालिकाले अति जोखिमयुक्त वडा नम्बर ३ र ७ का १ हजार २ सय घरका लागि १५ लाख रुपैयाँको बीमा गरिदिने भएको हो । 

ऐतिहासिक सहर नेपालगञ्जको जोखिमयुक्त आवास क्षेत्रका लागि घर बीमा कार्यक्रम लागू गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले विपद जोखिम सम्बन्धि कार्यविधि २०८० जारी गरी आवासीय घरको बीमा गर्न लागेको हो । विपद्पछिको जोखिम कम गर्न मद्दत पुग्ने अपेक्षासहित सम्बन्धित वडाको लगत लिने काम भइरहेको छ । 

नगर प्रमुख प्रशान्त विष्टले राष्ट्रिय बीमा कम्पनीसँग सम्झौता गरेर काम अगाडि बढिसकेको बताउनुभयो । नेपालमै नमुनाका रुपमा घर बीमा कार्यक्रम लागू गरिएको विष्टको भनाई छ । राष्ट्रिय बीमा कम्पनीका अनुसार सम्पत्ति बीमा निर्देशन २०८० को घर बीमा कार्यक्रम अन्तर्गत प्रति घर १५ लाख घर बीमा का लागि भ्याटसहित वार्षिक ८ सय ५ रुपैयाँ प्रिमियम तिर्नुपर्नेछ । यसले हरेक घरको पाँच जना सदस्यको प्रति व्यक्ति ७ लाखको दरले दुर्घटना बीमा पनि घर सम्बन्धि क्षति भएमा क्रेज हुने राष्ट्रिय बीमा कम्पनी नेपालगञ्जका शाखा प्रमुख नवीन शर्मा पौडेलले जानकारी दिनुभयो । 

नेपालगञ्जको पुरानो, साँघुरो र जीर्ण बस्ती रहेको ती क्षेत्रमा अधिकांश घर जोखिमयुक्त अवस्थामा छन् । बीमा कार्यक्रमले जोखिम बहन गर्ने भएपछि जनप्रतिनिधि र स्थानीय उत्साहित छन् । विपद्का कारण घरमा नोक्सानी पुगेपछि त्यसको क्षतिपूर्ति पाइने सुनिश्चित हुँदा खुसी लागेको स्थानीय मोहम्मद नफिस अन्सारी बताउनुहुन्छ । वडा नम्बर ३ का वडा अध्यक्ष मो.अयुव सिद्दिकी यो कार्यक्रमले स्थानीय निकै लाभान्वित हुने बताउनुभयो । 

सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजनाको पहलमा भइरहेको घरको बीमा कार्यक्रम अन्तर्गत बीमा भएका घरमा मृत्यु, घाइते वा घरमा क्षति भएको हकमा सोही अनुसार बीमा दाबी गर्न पाइनेछ । यो बीमा कार्यक्रम अन्तर्गत आगलागी, हावाहुरी, चट्याङ, भूकम्प, जमिन खस्ने, भासिने लगायतबाट हुने क्षतिको बीमा गरी जोखिम बहन हुने बताइएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button