तपाईँ सुन्दै हुनुहुन्छः

कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण

कालिकोट । जिल्लाको नरहरीनाथ गाउँपालिकाका ४६ जना कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण गरिएको छ । 

गाउँपालिकाको वडा नं १ देखि ४ सम्मका चारवटा वडामा कुपोषण देखिएका ती बालबालिकालाई पोषणयुक्त आहार वितरण गरिएको हो । नरहरीनाथ गापाको छ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकाको कुपोषण अवस्था जाँच गर्दा ती बालबालिकामा कुपोषण देखिएको थियो । उनीहरुलाई पोषणयुक्त आहार वितरण गरिएको गाउँपालिकाले जनाएको छ । 

कुपोषण पहिचान शिविरमा देखा परेका उनीहरूका लागि पोषणयुक्त खाद्यवस्तु अण्डा, लिटो बनाउने चामल, पाँच केजी मासु, मुसुराको दाल, चना केराउलगायतका आहार वितरण गरिएको नरहरिनाथ गाउँपालिकाले जनाएको छ ।

नरहरीनाथ गाउँपालिकाको चारवटा वडाका पाँच सय ३८ बालबालिकाको कुपोषण जाँच गरिएको थियो । त्यसमध्ये ४१ जनामा मध्यम खालको कुपोषण र छ जनामा कडा खालको कुपोषण देखा परेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मनोज बोगटीले जानकारी दिनुभयो । 

“अस्पतालमा आएर जाँच गरि कुपोषण देखा परेका बालबालिकाको अभिभावक फेरि बच्चा लिएर नियमित अस्पताल आउन मान्दैनन्”, उहाँले भन्नुभयो, “स्याहार सुसार र आहार नपाएरै कुपोषण देखा पर्ने गरेको छ । ग्रामीण भेगमा बालबालिकालाई छाडेर मेलापात, घाँस दाउरा वनपाखा गर्नुपर्ने हुन्छ । उनीहरूको रेखदेख र स्याहार नहुँदा कुपोषण लाग्ने गरेको पाइएको छ ।”

कुपोषण भेटिएका वडामा खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी पाँच वर्ष मुनिका बालबालिकाका बाबुआमालाई कक्षा सञ्चालन गरिएको छ ।  गाउँपालिकाकाले पोषणमैत्री अभियान सञ्चालन गरी कुपोषणमा कमी ल्याउने काम गरिरहेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले बताउनुभयो ।

“कुपोषण न्यूनीकरण गर्न गाउँसभाले बजेट व्यवस्थापनको  तयारी गरेको छ”, उहाँले भन्नुभयो, “पोषणमैत्री पालिका निर्माणका लागि गाउँपालिकाले अन्य सङ्घ संस्थासँग समन्वय र सहकार्य गर्न तयार छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button