तपाईँ सुन्दै हुनुहुन्छः

“रेबिज लागेपछि मान्छेको मृत्यु निश्चित भएकाले जोगिन जरुरी”  

जनकपुरधाम । प्राणघातक रोगको रुपमा रहेको रेबिज रोग सन् २०३० सम्ममा नेपालमा शुन्य झार्नका लागि रेबिज रोग लाग्न नदिनेतर्फ विशेष ध्यान दिनुपर्ने आवश्यकतामा विज्ञहरूले जोड दिनुभएको छ ।

“अवरोध हटाऔँ रेविज उन्मूलन गरौँ” मूल नारासहित विश्व रेविज दिवसको अवसरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाको आयोजनामा जनकपुरधाममा आयोजित कार्यक्रममा सहभागीहरूले रेविज रोग लाग्नबाट जोगिनका लागि घरपालुवा कुकुरलाई नियमित रुपमा रेविज विरुद्धको खोप लगाउन सुझाव दिनुभयो ।

पशु विज्ञहरूले सामुदायिक कुकुरको टोकाइबाट जोगिनुपर्ने धारणा राख्दै रेविज सार्ने जङ्गली जनावरको टोकाइबाट जोगिन आग्रह गर्दै कसैलाई टोकिहालेको खण्डमा खुल्ला धारामा साबुन पानीले १५ मिनेटसम्म पखालेर एक साताभित्रै रेविज विरुद्धको खोप लिन सुझाव पनि विज्ञहरूले दिनुभएको छ । 

रेविज लागेको पशुको र्‍यालबाट मान्छेको शरीरमा काटिएको ठाउँ वा घाउ, मुख, आँखासहितको भागमा परेको खण्डमा रेविज रोग लाग्ने खतरा भएकाले त्यस्तो अवस्थामा नआत्तिई नजिकको स्वास्थ्य संस्थामा पुगेर रेविज विरुद्धको खोप लिन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. सञ्जीव कुमार ठाकुरले जानकारी दिनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका पशुपन्क्षी स्वास्थ्य महाशाखाका प्रमुख डा. सरोज कुमार चौधरीले रेविज रोग लागेपछि मान्छेको मृत्यु निश्चित भएकाले रोग नै लाग्न नदिन कुकर तथा रेविज रोग सार्ने जङ्गली जनावरको टोकाइबाट जोगिन आग्रह गर्नुभयो ।

मधेश प्रदेशका पशुपन्क्षी तथा मत्स्य निर्देशनालयका निर्देशक डा. जागेश्वर यादवले विश्वमा एक वर्षमा रेबिजका कारणले ५५ हजार मान्छेको मृत्यु हुनुका साथै नेपालमा ५ सय चौपाया तथा ३२ जना मान्छेको रेविज रोगका कारणले मृत्यु भएको बताउँदै रेबिजको विषयमा जनचेतना फैलाउन आवश्यक भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button