तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रादेशिक अस्पतालमा अनलाइन टिकट सेवा शुभारम्भ

रुपन्देही । दैनिक साँढे २ हजार जनाले सेवा लिने बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा अनलाइन ओपिडी टिकट सेवा शुभारम्भ भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुनले मङ्गलवार अस्पतालको मोबाइल एपबाट टिकट काटेर सेवाको शुभारम्भ गर्नुभयो ।

यो सेवा सञ्चालनसँगै सेवाग्राहीले टिकटकै लागि घण्टौँसम्म लाइन बस्नुपर्ने समस्या हटेर गएको तथा समय र प्रविधिको बिकास अनुसार सेवालाई परिमार्जित गर्नुपर्ने उहाँले बताउनुभयो । सरकारले समेत प्रविधिको प्रयोग गरी सबै स्वास्थ्य संस्थाहरूमा मन्त्रालयको कोठामै बसेर अनुगमन र मूल्याङ्कन गर्ने प्रविधिको सुरुवात गर्ने तयारीमा रहेको उहाँको भनाइ थियो ।

प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा प्राथमिकता दिएर लुम्बिनी प्रादेशिक अस्पताललाई बजेटको व्यवस्था गरेको मन्त्री पुनले बताउनुभयो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. वासुदेव उपाध्यायले मातृ शिशु मृत्युदर घटाउने अभियानमा प्रादेशिक अस्पतालको भूमिका सह्रानीय रहेको उल्लेख गर्नुभयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले अनलाइन टिकट सेवासँगै अब छिट्टै डिजिटल भुक्तानी सेवासमेत शुभारम्भ गर्ने तयारी रहेको जानकारी दिँदै अस्पतालमा बीमा सेवातर्फ टिकटका लागि हुने भिडलाई कम गर्न थप काउन्टर विस्तार गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button