तपाईँ सुन्दै हुनुहुन्छः

विपद् प्रतिकार्य योजनासहित तयारी अवस्थामा रहन निर्देशन

सुनसरी । जिल्ला विपद् व्यवस्थापन समिति सुनसरीले प्रतिकार्य योजनासहित तयारी अवस्थामा रहन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

विपद् व्यवस्थापन समिति सुनसरीको आज बसेको बैठकले प्रतिकार्य योजनासहित विपद्को बेला चाहिने आवश्यक तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको अध्यक्षता तथा सुनसरी जिल्लाका स्थानीय तहका नगरप्रमुख÷अध्यक्षहरूको विशेष उपस्थितिमा सम्पन्न जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सबै स्थानीय तहले आ–आफ्नो स्थानीय विपद् व्यवस्थापन कोषमा मौज्दात रहेको रकमको विवरण तथा हालसम्म विपद्को क्षेत्रमा खर्च भएको विपद् व्यवस्थापन कोषको रकम सहितको प्रगति विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले मनसुन शुरु भइसकेको र सँगै बाढी, पहिरो, अतिवृष्टि आइ हुनसक्ने क्षतिको न्यूनीकरणका लागि मनसुन प्रतिकार्य कार्यायोजना २०८१ विपद्को उच्च जोखिम रहेकोले बाढी, डुबान, सडक दुर्घटना, मानव वन्यजन्तु द्वन्द्व, लगायतको क्षेत्रको उचित व्यवस्थापन गर्न सम्बन्धित स्थानीय तहले विपद्सँग सम्बन्धित सम्पूर्ण सङ्घसंस्थाहरू तथा सरोकारवाला सम्पूर्ण पक्षहरूको सक्रिय सहभागितामा विपद्को जोखिम क्षेत्र, हुनसक्ने क्षतिको पहिचान गरी विपद् जोखिम न्यूनीकरणका लागि सहकार्य गर्ने तथा विपद् पूर्व तयारीका कार्यहरू गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले जिल्लामा क्रियाशील विपद्का क्षेत्रमा काम गर्ने विभिन्न गैरसरकारी संघ संस्थाले विपन्न वर्गका परिवारलाई राहत स्वरूप लत्ता कपडा, औषधिजन्य सामग्रीहरु लगायतका राहत सामग्रीहरु एकद्वार प्रणालीमार्फत सम्बन्धित स्थानीय तहको प्रत्यक्ष समन्वयमा जिल्ला प्रशासन कार्यालयको अनुमतिमा मात्र बाँड्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

त्यसैगरी, बैठकले मनसुन प्रतिकार्य कार्यायोजना विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका सूचनाहरू निरन्तर उपलब्ध गराउने र हाल नेपालको जलवायु परिवर्तनसँगै जनजीवन प्रभावित हुनसक्ने सम्भावना रहेकोले त्यसबारेमा पनि निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button