तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकीय गन्तव्य गिडिदहको प्रवर्द्धनका लागि पूर्वाधार निर्माणमा जोड

जुम्ला । कर्णाली प्रदेशको नयाँ पर्यटकीय गन्तव्य गिडिदहको पर्यटन प्रवर्द्धनका तातोपानी गाउँपालिका निरन्तर जुटेको छ ।
तातोपानी गाउँपालिका–४स्थित गिडिदहको प्रवृद्धनका लागि पूर्वाधार निर्माणदेखि प्रचार प्रसारमा जोड दिँदै आएको छ ।

वर्षौँदेखि गुमनाम पर्यटकीय क्षेत्र गिडिदहको प्रवर्द्धनका लागि गत वर्ष तातोपानी गाउँपालिकाको टोली पुगेर गिडिदह सम्मेलन गरेको थियो । सम्मेलनपछि  गिडिदहको प्रवर्द्धनका लागि निरन्तर पहल गर्दै तातोपानीले गिडिदहसम्म पुने पदमार्ग निर्माण, सडक निर्माण तथा धर्मशाला निर्माण लगायतका पूर्वाधार निर्माणमा जोड दिएको छ ।

पूर्वाधार अभाव प्रचार प्रसारको अभावमा ओझेलमा परेको गिडिदहमा पछिल्लो समय आन्तरिक पर्यटकको भिड लाग्न थालेको हो । युवा, कर्मचारीहरूलगायत अन्य स्थानीयहरू समूह बनाएर गिडिदह अवलोकन गर्न जान थालेका छन् ।

गिडिदहमा आन्तरिक पर्यटकको आर्कषण बढेपछि पालिकाको लगानीमा विभिन्न पूर्वाधार निर्माण भएका छन् । केही समयअघि गिडिदह सम्म पुग्न बाटो नै थिएन् । पालिकाको लगानीमा हालसम्म पदमार्ग निर्माण भई आवतजावतमा सहज भएको छ ।

गिडिदहको छेउमा हाल धर्मशाला र मैत्रीपूर्ण शौचालय निर्माण गरिएको छ । यसअघि गएका पर्यटकहरू टेण्ड हालेर बस्नु पर्ने अवस्था थियो । वर्षात हुँदा निकै समस्या हुन्थ्यो । भने दिसा पिसाब गर्न पनि उस्तै मुस्किल थियो । 

गिडिदहमा निर्माण भएको धर्मशाला । तस्बिर : सागर परियार ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशकोको १० लाख र जनश्रमदान २ लाख गरी १२ लाख लगानीमा गिडिदह छेउमा धर्मशाला निर्माण भएको तातोपानी गाउँपालिका वडा नं.४ का अध्यक्ष अम्मर बहादुर रोकायाले बताउनुभयो । उहाँका अनुसार उक्त धर्मशालामा कम्तीमा पनि ३५ बस्न मिल्ने छ । तातोपानी ४ र डिभिजन बन कार्यालयको द्विपक्षीय सम्झौता अनुसार धर्मशाला, वातावरण मैत्री शौचालय र खानेपानी धारा समेत निर्माण गरिएको उहाँको भनाई छ ।
गिडिदह अवलोकनसँगै निर्माण भएका पूर्वाधारको निरीक्षणको लागि वडा कार्यालयको अगुवाइमा गएको सरकारी टोली गिडिदह पुगेर फर्किएको छ । पहिलो पटक गिडिदह पुगेको तातोपानीका प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतले गिडिदह पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको र निकै रमणीय क्षेत्र रहेको बताउनुभयो । “गिडिदह तातोपानी मात्र नभई जुम्लाकै समृद्धिको आधार हो । यसको प्रचार प्रसारदेखि पर्यटकको सहज आवागमन र बसाई व्यवस्थापनका लागि पूर्वाधार निर्माण सबैको पहल जरुरी देखिन्छ ।”, उहाँले भन्नुभयो ।

त्यसैगरी तातोपानीकै स्वास्थ्य शाखा प्रमुख गुरु प्रसाद चौलागाँई दोस्रो पटक गिडिदह पुगेका छन् । पहिलो पटक जाँदा हिँड्ने बाटोदेखि बस्ने स्थानको सास्ती खेपेको अनुभव सुनाउँदै दोस्रो पटक जाँदा हिँड्ने बाटोदेखि बस्ने बास र शौचालय धाराको व्यवस्थापनले बसाई र घुमाई सहज भएको बताउनुहुन्छ ।  

जिल्लाकै समृद्धिको लागि गिडिदहको प्रवर्द्धनमा एकजुट भएर लगानी जुटाउन र पूर्वाधार निर्माणमा हातेमालो गर्न जरुरी रहेको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईको भनाई छ ।

दुई वटा ताल रहेको उक्त दहमा सानो र ठुलो दहको गरी कुल लम्बाई, १ हजार ५१० मिटर रहेको छ । जसमा  ठुलो दह(तालको) लम्बाई १ हजार ६० मिटर, चौडाई  ३१० मिटर,  गहिराई ४३.३ मिटर रहेको छ । 

त्यस्तै गिडिदहकै सानो दह ( तालको) लम्बाई ४५० मिटर,चौडाई २१० मिटर,र गहिराई २१.३ मिटर रहेको छ । समग्र गिडिदह क्षेत्र २९.११ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

राष्ट्रिय महत्व बोकेका १८ प्रकारका चरा,७ वटा स्तनधारी जनावर, ७४ वटा चराचुरुङ्गी रहेका छन् । गिडिदहको क्षेत्रफल केही महिनाअघि मात्र सार्वजनिक भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button