तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटमा कास्की फाइनलमा 

पोखरा । गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटमा कास्की फाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’को अन्तिम खेलमा बलियो मानिएको तनहुँलाई घरेलु टिम कास्कीले ७७ रनले पराजित गर्दै कुल ६ अङ्कका साथ फाइनलमा स्थान पक्का गरेको हो ।

कास्कीले लिग चरणका सम्पूर्ण तीन खेलमा जीत हासिल गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट खेल मैदानमा आज भएको खेलमा टस जितेर ब्याटिङ रोजेको कास्कीले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७१ रन बनायो । 

खेलमा म्यान अफ दि म्याच समेत घोषित कास्कीका अर्जुन कुमालले ३५ बलमा सात चौका दुई छक्का प्रहार गर्दै व्यक्तिगत ५८ रनको योगदान दिनुभयो । त्यस्तै अभिषेक थापा नट आउट रहँदै ११ बलमा २ छक्का र एक चौकाको सहयोगमा २६ रन जोड्नु भयो ।

तनहुँका लागि चन्द्रकान्त पौडेल, प्रदीप अर्याल, दिनेश बुढा मगर र अलिक श्रेष्ठले समान १–१ विकेट दिनु भयो । 

यता जवाफी ब्याटिङमा उत्रिएको तनहुँ १८ ओभरमा सबै १० विकेट गुमाउँदै ९४ रनमात्रै जोड्न सक्यो । तनहुँका दिनेश बुढाले ४१ रनको योगदान दिँदा कप्तान समिर कँडेलले २२ र दिपेश अधिकारीले १८ रन जोड्नु भयो । कास्कीका कृष्ण पौडेलले ३ विकेट लिनु भयो भने विपिन खत्रीले समेत ३ विकेट लिनु भयो । त्यस्तै सुभास भण्डारीले २ विकेट र नितेश गिरीले १ विकेट लिनु भएको थियो । 

त्यसै गरी समूहमा ‘ए’मा नै भएको प्रतिष्ठा जोगाउने खेलमा बागलुङ २९ रनले विजयी भएको छ । म्याग्दी विरुद्ध पारीको सुरुवात गरेको बागलुङ १८.१ ओभरमा सबै विकेट गुमाउँदै ७६ रन मात्रै बनाउन सक्यो । म्याग्दीका हरि सुवेदीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १३ रन दिएर ५ विकेट लिन सफल हुनु भयो । 

जवाफी ब्याटिङमा उत्रिएको म्याग्दी १६.१ ओभरमा सबै विकेट गुमाउँदै ४७ रनमा समेटियो । बागलुङलाई जित दिलाउन सञ्चार निउरेले ६ विकेट लिनु भएको थियो । उहाँ खेलको म्यान अफ दि म्याच समेत घोषित हुनु भयो । प्रतियोगिता अन्तर्गत सोमबार समूह ‘बी’को पहिलो पर्वत र नवलपुरका बीच हुनेछ भने दोस्रो खेल स्याङजा र गोरखाका बीच हुनेछ ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनौट समेत रहेको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनु भयो । यसै गरी महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button