तपाईँ सुन्दै हुनुहुन्छः

रोजगारी प्रबद्र्धन गर्न ‘मेयरसँग रोजगारदाता’ कार्यक्रम

नेपालगञ्ज । रोजगारी प्रबद्र्धन गर्न नेपालगञ्ज उपमहानगरपालिकाले ‘मेयरसँग रोजगारदाता’ कार्यक्रम सुरु गर्दैछ । आगामी आर्थिक वर्षदेखि सुरु गरिने यस कार्यक्रमका विषयमा आज उद्योगी व्यवसायीसँग छलफल तथा अन्तरक्रिया गरिएको छ । उद्योग व्यवसायमै तालिम दिएर कामदार पदस्थापन गर्ने लक्ष्यका साथ आगामी बजेटमा यो कार्यक्रम समेटिनेछ ।  

नेपालगञ्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रको आयोजना तथा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीले आफ्ना लागि चाहिने अनुसारका कामदारलाई दक्ष बनाउने गरी उपमहानगरपालिकाले तालिम दिएको अवस्थामा उनीहरुलाई पदस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । उद्योग व्यवसायको आवश्यकतामा आधारित सीप तथा दक्षता अभिवृद्धि तालिम सञ्चालन गर्ने तथा बेरोजगारलाई त्यहीँ नै पदस्थापन गर्ने नीति लिनुपर्नेमा जोड दिइएको छ ।

नेपालगञ्जमा भारतबाट थुप्रै श्रमिकहरू आउने गरेको भन्दै उद्योगी व्यवसायीहरूले स्वदेशी नागरिकलाई उद्योगधन्दा वा व्यवसायको आवश्यकताका आधारमा तालिम दिने गरी योजना बनाएर अघि बढ्नुपर्ने बताएका छन् । ‘हामीलाई आवश्यक परेको कामदारका बारेमा हामी भन्छौँ, नेपालगञ्ज उपमहानगरपालिकाले त्यसै अनुसारको तालिमका लागि सहजीकरण गर्नुपर्‍यो,’ उद्योगी व्यवसायीले भने- “त्यसो भएमा ‘अन द जब तालिम’ प्रभावकारी हुन्छ ।”

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नेपालगञ्ज उद्योग वाणिज्य सङ्घसँग सहकार्य गरेर अघि बढ्ने बताउँदै रोजगारी प्रबद्र्धन गर्ने गरी हातेमालो गर्न आह्वान गर्नुभयो । विष्टले आवश्यकता पहिचान गरेर आगामी नीति तथा कार्यक्रममा समेट्ने गरी प्रस्ताव पेश गर्न पनि आग्रह गर्नुभएको छ । ‘उद्योगधन्दा, कलकारखाना, होटल, व्यवसाय, प्रतिष्ठानले पनि दक्ष कामदार पाउन् र बेरोजगारी घटाउने हाम्रो लक्ष्य पनि पूर्ति हुँदै जाओस् भन्ने हाम्रो ध्येय हो,’ उहाँले भन्नुभयो- ‘आउनुहोस् हातेमालो गरौँ ।’ रोजगारदाता उद्योग व्यवसायको प्रबद्र्धन, बेरोजगार व्यक्तिहरूको दीर्घकालीन रोजगारी र पालिकाको समृद्धिमा सहयोग पुग्ने अपेक्षाका साथ कार्यक्रम गरिएको रोजगार सेवा केन्द्र प्रमुख मञ्जु ज्ञवालीले बताउनुभयो । बेरोजगार पदस्थापनमा सम्भावना र चुनौतीहरूबारे छलफल गर्ने उद्देश्य पनि रहेको ज्ञवालीको भनाई छ ।

त्यस क्रममा विभिन्न उद्योग, व्यवसाय, होटल तथा प्रतिष्ठानका सञ्चालकहरूले आफूहरूलाई चाहिएको कामदारको प्रकृति र सङ्ख्याबारे समेत उपमहानगरपालिकालाई जानकारी गराएको रोजगार सहायक अनुप बर्माले जानकारी दिनुभयो । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, अधिकृत दिपेन्द्र श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओली लगायत उद्योगी व्यवसायीको उपस्थिति थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button