तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशमा कृषिको विकासका लागि पाँचसय कृषि स्वयंसेविका 

जनकपुरधाम । मधेश प्रदेश सरकारले हिजो प्रदेश सभामा आर्थिक वर्ष २०८१/२०८२ का लागि पेश गरेको बजेटमा कृषिलाई उच्च प्राथमिकतामा राखेको छ । 

अर्थमन्त्री भरत प्रसाद साहले पेश गर्नु भएको बजेटमा प्रदेश सरकारले महिलाहरूलाई कृषि क्षेत्रमा आकर्षित गर्न तथा घर बारीमा उत्पादन भएको खाद्य सामाग्रीहरूको महत्व दर्शाउनका लागि प्रदेश भरिमा पाँच सय महिलालाई कृषि स्वयं सेविका भर्ना गरेर परिचालन गर्ने गरि बजेट विनियोजन गरेको छ । 

महिला कृषि स्वयंसेविकाहरूले कृषि क्षेत्रको उत्पादन तथा बारीमा उत्पादन भएको खाद्यान्नको प्रयोग सहितका विषयमा गाउँ गाउँमा पुगेर प्रशिक्षण तथा खाद्यान्नको उपभोगको विषयमा जानकारी गराउने भएको छ ।  

यसका साथै मधेश प्रदेशको माटोको सुधार गरेर कृषि उत्पादन बढाउनका लागि माटोको सुधार गर्नका लागि प्राङ्गारिक मलको प्रयोग गर्नका लागि किसानहरूलाई प्रोत्साहित गर्न प्राङ्गारिक मलको उत्पादनलाई प्रोत्साहित गर्ने बजेट वक्तव्यमा उल्लेख रहेको छ । 

यसका साथै पशुबाट प्राप्त हुने आम्दानीलाई बढाउनका लागि पशुको नश्ल सुधार गर्न प्रदेशका १ सय ३६ पालिकामा नै पशुको नश्ल सुधार सम्बन्धि कार्यक्रम अगाडि बढाउने मधेश प्रदेशको बजेटमा उल्लेख रहेको छ । यसका साथै बजेटमा प्रदेशमा कृषि औजार कारखाना स्थापनाका लागि पनि काम गर्ने भएको छ । 

प्रदेश सरकारको बजेटमा एक पालिका एक कृषि पुस्तकालय सञ्चालन गर्ने प्रतिबद्धता बजेटमा गरेको छ । एक पालिका एक एग्रोभेट पनि स्थापना गर्ने बजेटमा उल्लेख रहेको छ । 

मधेश प्रदेशको समग्र कृषि क्षेत्रको विकासका लागि अगामी आर्थिक वर्षमा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि २ अर्ब ७९ करोड र १९ लाख बजेट विनियोजन गरेको छ । मधेश प्रदेश सभाको बैठकमा अर्थमन्त्रीले आय व्यय सहितको बजेट पेश गर्नु भएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button