तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजमा १० औँ चुरे संरक्षण दिवसमा वृक्षारोपण

वीरगञ्ज । आज १० औँ चुरे संरक्षण दिवस वीरगंजमा व्यापक रुपमा वृक्षारोपण गरी चुरे संरक्षण दिवस मनाइएको छ ।

चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई , चुरे रहे पानी, पानी रहे हामी भन्ने नाराका साथ आयोजित वृक्षारोपण कार्यक्रमको शुभारम्भ बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गर्नु भएको थियो । 

वीरगञ्ज महानगरपालिका, राष्ट्रपति चूरे तराई मधेश संरक्षण विकाश समिति भरतपुर चितवन र ग्रीन सिटी सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा वीरगंजको गण्डक चोकबाट परवानीपुरसम्म वृक्षारोपण गर्ने कार्यक्रमको आज शुभारम्भ गरिएको थियो । 

सो अवसरमा आज पहिलो चरणमा मूल सडकको डिभाइडरहरूमा ५ सय बिरुवा रोपिएको ग्रिन सिटी सामुदायिक केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले बताउनु भयो । 

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, पर्साका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकाश समिति भरतपुर चितवनका प्रमुख श्यामबाबु लोप्चन लगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रपति चुरे तराई मधेस विकास समिति भरतपुर चितवनका प्रमुख लोप्चनका अनुसार ‘जनताको रहर, हरित शहर’ कार्यक्रम अन्तर्गत वीरगन्ज महानगरपालिका र भरतपुर महानगरपालिकाहरू वृक्षारोपण कार्यक्रम गरिएको हो ।

चुरे संरक्षण कार्यक्रम अन्तरगत गत वर्ष वीरगञ्ज महानगरपालिका क्षेत्रमा १५ लाखको वृक्षारोपण गरेको थियो भने चालू आर्थिक वर्षमा भने पाँच लाखको वृक्षारोपण गरिएको राष्ट्रपति चुरे तराई मधेस विकास समिति भरतपुर चितवनका प्रमुख श्यामबाबु लोप्चनले बताउनु भयो । 

सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा सम्पन्न वृक्षारोपण कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि नागरिक समाज, समाज सेवी, विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

महाभारत पर्वत शृङ्खलाको दक्षिणी सिमानाबाट तराई मैदानको उत्तरी सिमाना बीचको होंचो डाँडा र पर्वत शृङ्खलालाई चुरे भनिन्छ । नेपालको कूल भूभागको १२ दशमलव ७८ प्रतिशत चुरे क्षेत्रमा पर्दछ ।

पूर्ण रुपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरू चुरे क्षेत्र भई तराईतर्फ बग्ने भएकाले प्राकृतिक रुपमा यो क्षेत्र अत्यन्त संवेदनशील मानिन्छ । 

पछिल्लो समय चुरेको वन विनाश, ढुङ्गा गिट्टी जस्ता नदीजन्य पदार्थको उत्खनन र सडक निर्माण जस्ता कामले चुरे क्षेत्र जोखिम परेको छ । चुरे संरक्षणका लागि आर्थिक वर्ष २०६७/२०६८ देखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सञ्चालन हुँदै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button