तपाईँ सुन्दै हुनुहुन्छः

‘सकारात्मक परिवर्तनका लागि सञ्चार जगतको भूमिका महत्वपूर्ण’

काठमाडौँ । काठमाडौँमा आयोजित एक कार्यक्रममा विभिन्न वक्ताहरूले समाज, देश र विश्वमै सकारात्मक परिवर्तनका लागि सञ्चार जगतको भूमिका महत्वपूर्ण रहेकाले अहिलेको परिस्थितिमा सञ्चार जगत त्यस तर्फ अझ बढी सक्रियतापूर्वक लाग्नुपर्ने बताउनुभएको छ ।

ब्रम्हकुमारीज नेपाल तथा प्रजापिता ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय माउन्ट आबु भारतको संयुक्त आयोजनामा आज काठमाडौँमा मिडियाकर्मीहरूसँग भएको छलफलमा वक्ताहरूले सकारात्मक सोचको विकासले समाजलाई एक आपसमा जोड्ने भएकाले यो विषय महत्वपूर्ण भएको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार हरिहर विरहीले शान्ति र सकारात्मक रुपान्तरणका लागि ब्रह्मकमाुरीज संस्थाले खेल्दै आएको भूमिका प्रसंशनीय रहेको उल्लेख गर्दै शान्ति अभियानमा सञ्चार क्षेत्रले अझ बढी प्रभावकारी ढंगले काम गर्नुपर्ने बताउनुभयो ।

वरिष्ठ पत्रकार विरहीले समाजमा सकारात्मक विचारको प्रवाहलाई बढाउन सामाजिक सञ्जालहरूलाई व्यवस्थित बनाउन भने जरुरी रहेको बताउनुभयो ।

त्यस अवसरमा रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले ब्रह्माकुमारीज जस्ता संस्थाहरूले सकारात्मक सोचको विकास गर्ने गरेको उल्लेख गर्नुहुँदै गर्नुहुँदै त्यस संस्थाको यस किसिमको सिकाइबाट नकारात्मकतातर्फ गइरहेको समाजलाई सकारात्मकतातर्फ रूपान्तरण गर्न नेपालको मिडिया क्षेत्रले केही मात्रामा भए पनि काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालकी प्रमुख डा राजदादिले रात र दिन नरुकेजस्तै संसार चलायमान भएकाले पत्रकारले सुरु गर्ने सकारात्मक अभियानले संसारलाई नै सकारात्मक रुपमा परिवर्तन गर्न सक्ने बल रहेको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका प्रमुख प्राध्यापक प्रवलराज पोखरेलले समाजको सकारात्मक रूपान्तरणमा राज्यको नीति नियमसँगै सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले त्यस अनुसार सबैले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले वास्तविक सुख आध्यात्मिक सुखबाट मात्र प्राप्त हुने भएकाले समाजको सकारात्मक रुपान्तरणका लागि आफूहरूले कलम चलाउने बताउनुभयो ।

ब्रह्माकुमारीज नेपाल मिडिया विभागका राष्ट्रिय संयोजक रामसिंह ऐरले समाजको सकारात्मक रुपान्तरणका लागि ब्रह्माकुमारीजले केन्द्रीय कार्यालय माउण्ट आबुमा मिडिया कन्फ्रेन्सहरुको आयोजना गरी पत्रकारहरूको अनुभव आदान–प्रदान गर्ने गरिएको बताउनुभयो ।

केन्द्रीय कार्यालय माउन्ट आबुमा आगामी सेप्टेम्बर २६ देखि ३० सम्म पाँच दिने मिडिया कन्फ्रेन्स हुने भएको पनि उहाँले जानकारी दिनुभयो ।

त्यस अवसरमा ब्रह्मकुमारीजको केन्द्रीय कार्यालय माउन्ट आबुका मिडिया प्रभागका राष्ट्रिय संयोजक शान्तनुले मिडियासँगको यस्ता अन्तरक्रिया कार्यक्रम यसपछि नारायणगढ, हेटौँडा, वीरगन्ज र जनकपुरमा पनि गरिने बताउनुभयो ।

यस्तै कार्यक्रममा भारतबाट आउनुभएका वरिष्ठ पत्रकारहरू दिन दयाल मित्तल, सरला आनन्द, ब्रह्माकुमारी सुनिता दिदी लगायतका बक्ताले सबै मिलेर संसारकै सकारात्मक रुपमान्तरण र शान्तिका लागि काम गर्नुको विकल्प नरहेको बताउनुभयो ।

तस्वीरः ब्रह्मकुमारीज नेपाल

प्रतिक्रिया राख्नुहोस्

Back to top button