तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रसारणलाई समावेशी र जनपक्षीय बनाउन रेडियो नेपाल प्रतिबद्ध’

काठमाडौँ । प्रेस काउन्सिल नेपालले आज रेडियो नेपालमा पत्रकार आचार संहिताको कार्यान्वयनको अवस्थाबारे अन्तरक्रिया गरेको छ ।

रेडियो नेपालको सभाहलमा आयोजित अन्तरक्रियामा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले राज्यले दिएको दायित्व अनुरुप प्रसारणलाई समावेशी र जनपक्षीय बनाउन रेडियो नेपाल प्रतिबद्ध रहेको बताउनुभयो ।

रेडियो नेपालले स्वनियमनको मान्यतालाई जोड दिई प्रसारण निर्देशिका, शैली पुस्तक एवं प्रसारण आचार संहिताहरू लागु गर्दै आएको उल्लेख गर्नुहुँदै कार्यकारी निर्देशक केसीले रेडियो नेपालले नाफा कमाउने र लोकप्रियता कमाउने उद्देश्यबाट नभई सेवाभावले काम गरिरहेको बताउनुभयो ।

कार्यकारी निर्देशक केसीले प्रेस काउन्सिलले जनतामा मिडिया साक्षरता फैलाएर सञ्चार माध्यममा आएका सामग्रीहरूको मूल्याङ्कन र छनौट गर्न सक्ने बनाउने गरी आफ्नो भूमिका थप फराकिलो बनाउँदै लैजानुपर्ने बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सूचना प्रविधिको विकासले पत्रकार आचारसंहिताको कार्यान्वयनमा चुनौती थपेको उल्लेख गर्नुहुँदै पत्रकारिता पेसालाई मर्यादित र विश्वसनीय बनाउन सञ्चार माध्यमहरूले समेत आन्तरिक आचारसंहिताको निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो ।

अध्यक्ष बस्नेतले सरकारी सञ्चार माध्यमहरूले सरकारका निर्णय र काम–कारबाहीका साथसाथै आलोचनात्मक चेत सहितका सामग्रीलाई समेत स्थान दिनुपर्ने बताउनुभयो ।

अन्तरक्रियामा रेडियो नेपालका नायव कार्यकारी निर्देशकहरू खगेन्द्र खत्री, चन्द्रभूषण लाल दास र कृष्णचन्द्र पौडेल, नेपाल प्रेस काउन्सिलका झविन्द्र भुषाल एवं रेडियो नेपाल र प्रेस काउन्सिल नेपालका उच्च पदाधिकारी एवं कर्मचारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button