तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोक जिल्ला स्तरीय शिक्षक भलिबलको उपाधि जुगल गाउँपालिकालाई

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जुगल गाउँपालिकाले जितेको छ ।

थाङपाल भ्याली माध्यमिक विद्यालय पाँचपोखरी–४ मा आज सम्पन्न फाइनलमा मेलम्ची नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै जुगलले उपाधि जितेको हो । जुगलले उपाधिसँगै नगद ५० हजार र उपबिजेता मेलम्चीले ३० हजार प्राप्त गरेका छन् ।

तेस्रो स्थानका लागि भएको खेलमा पाँचपोखरीले इन्द्रावतीलाई पराजित गर्दै नगद २० हजार प्राप्त गरेको छ ।

प्रतियोगितामा जिल्लाका ८ पालिकाका ९ टिम सहभागी रहेको पाँचपोखरी खेलकुद विकास समितिका संयोजक ग्याल्बो साम्देनले जानकारी दिनुभयो । प्रतियोगिताको उत्कृष्ट डिफेन्स मेलम्चीका नेत्रबहादुर तामाङ, उत्कृष्ट लिफ्टर इन्द्रावतीका कृष्ण गिरी, उत्कृष्ट स्पाइकर जुगलका खुमराज वली र उत्कृष्ट खेलाडी पाँचपोखरीका ढकबहादुर खडका घोषित हुनुभयो ।

हिजो सुरु भएको प्रतियोगितामा पाँचपोखरी थाङपाल गाउँपालिकाका २ टिम, मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका, चौतारा सागाँचोकगढि नगरपालिका, जुगल गाउँपालिका, बलेफी गाउँपालिका, हेलम्बु गाउँपालिका र सुनकोशी गाउँपालिकाको सहभागिता रहेको थियो ।

विजेतालाई पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारी लगायतले पुरस्कार प्रदान गर्नुभयो । शिक्षकको पेशासंगै सिर्जनात्मक कार्यको प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गरिएको पाँचपोखरी खेलकुद विकास समितिका अध्यक्ष ग्याल्बो साम्देनले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button