तपाईँ सुन्दै हुनुहुन्छः

साहित्यको माध्यमबाट महिला, बालबालिका  तथा विश्व वातावरण संरक्षणको पक्षमा काम गर्न सकिन्छ: मन्त्री चौधरी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले साहित्यको माध्यमबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार एवं विश्वको वातावरण संरक्षणको पक्षमा काम गर्न सकिने बताउनुभएको छ ।

काठमाडौँमा जारी हिमालयन लिटरेचर फेस्टिभल अन्तर्गत न्यू योर्क राइटर्स वर्कसप इन काठमाडौँलाईलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । विश्वका १० देशबाट सहभागी लेखक, साहित्यकार तथा कविहरूलाई नेपालमा स्वागत गर्दै उहाँले आजको मानवीय आवश्यकताको संरक्षणमा साहित्यको तर्फबाट महत्त्वपूर्ण भूमिका खेलिरहेको भन्दै प्रशंसा गर्नुभयो ।

विश्वमा वातावरण, महिला हक अधिकार, बालबालिकाको शिक्षा, स्वास्थ्य, मनोरञ्जन र ज्येष्ठ नागरिकहरूलाई सम्मानजनक हेरचाह, व्यवहार स्वास्थ्यमा रेखदेख आजको विश्वको माग होु, मन्त्री चौधरीले भन्नुभयो, ‘यसलाई कविता, लेख, साहित्यको माध्यमबाट जनस्तरमा तपाईँहरू लागिरहनुभएको छ । अझ अभियानको रूपमा लगिदिनुभयो भने विश्वमा विकास, संस्कृतिको सम्मान, मानव, शान्ति र एकताको संसार बन्ने थियो । यसमा तपाईँहरूको ठुलो हात छ । आजैबाट यो विश्व अभियान सुरु गरौँ, म तपाईँहरूको साथमा रहनेछु ‘ । 

उहाँले यस अभियानले सुन्दर विश्व बनाउन मद्दत पुग्ने भन्दै मानव मानवबिच प्रेम, भातृत्व, आणविक हातहतियार रहित संसार बनेमा पृथ्वीको वातावरणमा पनि ठुलो संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो । यसले जलवायु परिवर्तन र ग्लोबल वार्मिङको समस्यालाई पनि बिस्तारै हटाउने मन्त्री चौधरीको भनाई थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक एक अर्काका परिपूरक हुने भन्दै मन्त्री चौधरीले सबैको सम्मान र अधिकार संरक्षण गर्नु घर परिवार देखि राष्ट्र र संयुक्त राष्ट्रसङ्घको महत्त्वपूर्ण दायित्व रहेको बताउनुभयो । सबैले ध्यान दिएमा मानव संसार सुखी र खुसी हुने थियो , आजको बालबालिका भविष्यको कर्णधार भई समयअनुसार वृद्ध हुँदै जाने हो ,यसमा आमा दिदीबहिनी तथा महिलाको दायित्व कति छ ? महिला हक अधिकार, स्वास्थ्य, शिक्षा लगायत उहाँका आधारभूत आवश्यकताहरू पुगेका छन् कि छैनन्, उहाँले भन्नुभयो, “यी कुराहरूलाई पनि तपाईँहरूको कलममार्फत जुन भूमिका खेल्नुभएको छ त्यसलाई अझ बढाउँदै लैजान आग्रह गर्दछु “।

साहित्यिक अभियानले मानव जाति र पृथ्वीलाई समेत संरक्षण गर्ने भएकाले विश्व अभियानको रूपमा यसलाई लैजान मन्त्री चौधरीले आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button