तपाईँ सुन्दै हुनुहुन्छः

क्याम्पसहरूमा अनुसन्धान संस्कृतिको विकास हुन सकेन : प्राडा अधिकारी

​​​​​​​काठमाडौँ । प्राध्यापक डाक्टर देवराज अधिकारीले विश्व विद्यालय अन्तरगतका आङ्गिक कलेजहरूमा अनुसन्धान संस्कृतिको पर्याप्त विकास हुन नसकेको बताउनु भएको छ ।

मदन भण्डारी मेमोरियल कलेजद्वारा आयोजित तीन दिने सामाजिक अनुसन्धान तालिमको काठमाडौँमा उद्‌घाटन गर्नुहुँदै प्राध्यापक डाक्टर अधिकारीले उक्त कुरा बताउनु भएको हो । उद्‌घाटन कार्यक्रमका प्रमुख अतिथि अधिकारीले त्रिभुवन विश्व विद्यालय अन्तरगतका कलेजहरूमा अध्ययन अनुसन्धान कार्यलाई बढवा दिन विश्व विद्यालय अनुदान आयोगले अनुदान प्रदान गर्दै आएको बताउनुभयो ।

उद्‌घाटन सत्रलाई सम्बोधन गर्दै मदन भण्डारी मेमोरियल कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले अध्ययन अनुसन्धान जीवनभर नसकिने प्रक्रिया भएको धारणा व्यक्त गर्नुभयो । मदन भण्डारी फाउण्डेशनका अध्यक्ष समेत रहनु भएका पाण्डेले ३ दिने तालिम पश्चात् सहभागीहरूले विज्ञता हासिल गर्ने र अन्य कलेका तालिममा सहजिकरण गर्न योग्य हुने विश्वास व्यक्त गर्नुभयो ।

जेठ १० गते बुद्ध जयन्ती तथा उभौली साकेला पर्वको दिन सुरु गरिएको उक्त तालिमको जेठ १२ गते शनिवार समापन गरिएको छ । तालिम संयोजक तथा क्याम्पस प्रमुख डाक्टर बाबुराम अधिकारीले मदन भण्डारी कलेज अन्तरगत विभिन्न संकायका सदस्यहरूलाई अनुसन्धानमूलक काममा थप दक्ष बनाउँदै लैजाने उद्धेश्यकासाथ तालिम आयोजना गरिएको बताउनु भयो ।  

तालिममा प्राध्यापक डाक्टर प्रेमसागर चापागाईँ, योगेन्द्र गुरुङ, ध्रुव कार्की र विनोद पोखरेल त्यसै गरी, डाक्टर भीमलाल गौतम र डाक्टर अञ्जय मिश्रले सहजीकरण गर्नुभएको थियो । मदन भण्डारी मेमोरियल कलेजले वार्षिक रूपमा विभिन्न विधामा आधारित अध्ययन सामग्रीहरूको जर्नल ‘श्वेत शार्दूल’ प्रकाशित गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button