तपाईँ सुन्दै हुनुहुन्छः

युगकवि श्रेष्ठको प्रतिमामा माल्यार्पण तथा स्मरण 

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान र युगकवि सिद्धिचरण प्रतिष्ठानको सहआयोजनामा युगकवि सिद्धिचरण श्रेष्ठको १४३ औँ जन्मजयन्तीका अवसरमा उहाँको योगदान बारे स्मरण गरिएको छ ।

प्रतिष्ठान परिसरमा रहेको युगकवि श्रेष्ठको प्रतिमामा माल्यार्पणसहित युगकवि श्रेष्ठले नेपाली साहित्यमा पुर्याएको सिर्जनात्मक र क्रान्तिकारी योगदान बारे परिचर्चा गरिएको थियो। यसैबिच ७८ वर्षको उमेरमा कीर्तिशेष हुनुभएकी युगकविकी माइली सुपुत्री सरिता श्रेष्ठ खैगोलीप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले युगकवि सिद्धिचरण श्रेष्ठलाई निरङ्कुश राणा शासनविरुद्ध नेपाली साहित्यमा क्रान्ति, सङ्घर्ष र बहुभाषिक सिर्जनालाई अघि बढाउन सफल व्यक्तित्वको रूपमा चित्रण गर्नुभएको भएको थियो । प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ ले युगकवि सिद्धिचरण श्रेष्ठका कवितामा पाइने युगीन चेतना र प्रभावबारे धारणा राख्नुभएको थियो । 

कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले युगकवि सिद्धिचरण श्रेष्ठले नेपाली साहित्यको स्वच्छन्दतावादी तथा प्रगतिवादी धारामा पुर्याएको योगदानबारे चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा युगकवि सिद्धिचरण प्रतिष्ठानका सदस्य डा. फणीन्द्रराज निरौलाले युगकवि श्रेष्ठले नेपाली साहित्यमा सर्वप्रथम हडताल र क्रान्ति जस्ता शब्दको प्रयोग गर्दै युगीन चेतनाबोध गराउन सक्षम देखिएको भन्दै उहाँको जीवनीबारे परिचर्चा गर्नु भएको थियो । यस्तै प्राडा विश्वनाथ भण्डारीले युगकवि सिद्धिचरण श्रेष्ठको सिर्जनात्मक र क्रान्तिकारी योगदानबारे आफ्नो दृष्टिकोण राख्नुभएको थियो ।

यसैगरी कार्यक्रम समापनका क्रममा सभाध्यक्ष तथा युगकवि सिद्धिचरण प्रतिष्ठानका उपाध्यक्ष प्राडा मोहन लोहनीले युगकविले राणा शासनविरुद्ध सङ्घर्ष गर्दा सर्वस्वहरणसहित जेलनेल भोग्नु परेको यथार्थ अवगतै छ । उहाँले एकसाथ साहित्य र राजनीतिक परिवर्तनमा ऐतिहासिक भूमिका निर्वाह गर्नु भएको थियो भन्दै कवि व्यक्तित्व बारे परिचर्चा गर्नुभएको थियो । कार्यक्रमको उद्घोषण प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button