तपाईँ सुन्दै हुनुहुन्छः

 लार्केस्थित निकतातामा झोलुङ्गे पुल निर्माण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ३मा पर्ने निकतातामा झोलुङ्गे बनेपछि स्थानीय खुशी भएका छन् । लार्के गाउँबाट लगभग ४ घण्टा हिँडेर पुगिने निकतातामा पुल बनेसँगै स्थानीयले खुशियाली मनाएका छन् ।

पुल निर्माणसँगै बर्षौ देखि भोग्दै आएको दुःख हटेको स्थानीयले बताएका छन् । लार्के नदिमा नदीमा पुल नहुँदा स्थानीयले मात्र नभएर पर्यटकहरूले समेत धेरै समस्या भोग्दै आएका थिए । झोलुङ्गे पुल बनेपछि निकै खुशी लागेको स्थानीय बुद्धरानी तामाङले बताउनुभयो ।

 हिउँदको समयमा फड्के लगायत अन्य माध्यमबाट तुल तर्दै आएपनि बर्खा याममा अत्यधिक समस्या हुने गरेको थियो । आफ्नो ज्यान जोखिममा पारेर खोला तर्ने गरेका स्थानीय गाउँपालिकाले पुल बनाइदिएपछि खुशि भएका हुन् ।

नवनिर्मित झोलुङ्गे पुलको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले उद्घाटन गर्नुभएको हो । पुल उद्घाटन गर्दै अध्यक्ष लामाले गाउँपालिकाको ६० लाख बजेटमा पुल निमार्ण भएको जानकारी दिनुभयो । उहाँले स्थानीयको माग र आवश्यकतालाई सम्बोधन गर्दै पुल निमार्ण गरेको जानकारी दिनुभयो । पाँचपोखरी थाङपाल गाउँपालिका पर्यटकीय गाउँपालिका भएकाले पर्यटन पदमार्गको रुपमा रहेको लार्के निकताता हुँदै ड्राइगन गुफा,नौ ताल र पाँचपोखरी पुग्न अब पर्यटकलाई सहज भएको बताउनुभयो ।

स्थानीयको मागलाई क्रमशः पुरा गर्दै गएको दाबी गर्दै अध्यक्ष लामाले काकताङकुक्तङमा झोलुङ्ग पुल निमार्ण,लार्के सम्मको सडक विस्तार तथा सोलिङ,बत्ती,पाहुना घर निमार्ण लगायतको पालिका मार्फत भए गरेका कामको स्मरण गर्नुभयो । हालसम्म गाउँपालिकाले ११ वटा पुल निमार्ण गरिसकेको जानकारी दिँदै लामाले अब लार्केको लागि काठको पोल विस्थापित गर्दै फलामे स्थापना गर्ने, बुद्ध पार्क लगायत पर्यटकीय स्थलहरूको पहिचान गर्ने र प्रवर्धन गर्ने काम पुरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

गाउँपालिकाको अन्य ठाउँमा समेत झोलुङ्गे पुल निर्माण भइरहेको जनाउँदै जनताको समस्या समाधान गर्न र विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको लामाले बताउनुभयो ।    गाउँपालिकाको ६० लाख बजेट र स्थानीयको जनश्रमदानबाट बनेको ११३ मिटर झोलुङ्गे पुलको निर्माणले पर्यटन आवागमनमा सहज हुने र स्थानीयको आर्थिक समृद्ध हुने अपेक्षा गरिएको वडा अध्यक्ष ङिमाछिरिङ तामाङले बताउनुभयो । उहाँले अब होमस्टेको विकास गर्दै पर्यटकलाई सहज वातावरण सिर्जना गर्ने उद्देश्य रहेको बताउनुभयो । उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपप्रमुख सुनिता अधिकारी,वडाका जनप्रतिनिधि लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button