तपाईँ सुन्दै हुनुहुन्छः

आठौँ पोखरा स्पोर्ट्स अवार्डको तयारी पूरा 

पोखरा । पोखरामा हुने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० को तयारी पुरा भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा भोलि (शुक्रबार) पोखरा सभागृहमा हुने उक्त अवार्डको तयारी पुरा भएको बिहीबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । 

वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब र  वर्ष उत्कृष्ट खेल पत्रकार गरेर ७ विधामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक दीननाथ बरालले बताउनु भयो । यस बर्ष स्पेसल अवार्ड थप गरिएको उहाँले जनाउनु भयो । 

खेलाडीहरूलाई प्रोत्साहन र अग्रजलाई सम्मान गर्न उक्त कार्यक्रम निरन्तर रुपमा गर्दै आएको उहाँको भनाई थियो । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी गरेर चार वटा विधाको उत्कृष्ट तीन मनोनयन सार्वजनिक गरिएको छ । जस अनुसार वर्ष खेलाडी पुरुष विधामा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा पर्नु भएको छ । वर्ष खेलाडी महिला विधामा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहनु भएको छ ।  वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जी ब्रान्डको इलेक्ट्रिक स्कुटर र अवार्ड प्राप्त गर्नु हुने भएको हो । 

१७ वर्ष मुनिका खेलाडीबीच प्रतिस्पर्धा हुने उदयमान खेलाडी विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी, ब्याडमिन्टनकी दिलासा राना र एथलेटिक्सका बादल कार्की रहनु भएको छ । उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु  रहनु भएको छ । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउनु हुने भएको छ । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरूलाई मनोनयन अवार्ड र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

यस्तै यो वर्षको लाइफ टाइम अचिभमेन्ट अवार्ड एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्ललाई प्रदान गरिने भएको हो । मल्ललाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड सहारा क्लब पोखरालाई प्रदान गरिनेछ । वर्ष उत्कृष्ट खेल पत्रकारतर्फको अवार्ड रोहितराज पराजुलीलाई अर्पण गरिनेछ ।  वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा अवार्ड पाउने छन् । 

ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसको अन्तर्राष्ट्रिय वरियता प्राप्त खेलाडी अभिषेक बास्तोलालाई विशेष (स्पेसल) अवार्डबाट सम्मान गर्ने निर्णय समेत खेलकुद पत्रकार मञ्च गण्डकीको ३९ औँ बैठकले गरेको महासचिव राजाराम पौडेलले जानकारी दिनु भयो । प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा चर्चित गायक प्रकाश सपुत, सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी नाच, कौरा र झ्याउरे नृत्य तथा बि बोइङ गण्डकीको प्रस्तुती समेत रहने उपाध्यक्ष एवं सहसंयोजक सुरज श्रेष्ठले जनाउनु भयो । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय, पोखरा महानगरपालिकाको सहकार्यमा हुने कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्ले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय रहेको छ ।

उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब तर्फको पुरस्कार टाइगर ग्रुप अफ पोखरा नेपाल, वर्ष उत्कृष्ट खेल पत्रकारको पुरस्कार स्व. सेनानी हेमबहादुर पुनको परिवार, लाइफ टाइम अचिभमेन्ट अवार्ड सुपर मादी हाइड्रो पावर लिमिटेडले प्रायोजन गर्ने सम्झौता भएको छ ।

यसका अलावा टेल्जी ब्रान्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमाई मोटर्स प्रा.लि., साहस स्पोर्ट्स प्रालि, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप-आभ्या क्लब, मादी गाउँपालिका, बुमर्‍याङ रेस्टुरेन्ट लेक साइड, सिटीजन फर्निचर, परिचय एड्भटाइजिङ, एम.ए. कन्स्ट्रक्सन प्रालि रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button