तपाईँ सुन्दै हुनुहुन्छः

मेडिकलबाटै लागूऔषधको कारोबार गरेको आरोपमा सञ्चालक पक्राउ

रुपन्देही । बुटवलमा मेडिकल पसल राखेर लागूऔषध कारोबार गरेको आरोपमा एक मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

बुटवल उपमहानगरपालिका कालिकानगरस्थित कालिकापथमा रहेको बैदवार फार्मेसीका सञ्चालक कमलबहादुर बिक यस्तो आरोपमा पक्राउ परेका हुन् । प्रहरीले विशेष सूचना र प्रमाणका आधारमा उनलाई पक्राउ गरेको जनाएको छ । औषधिजस्तो संवेदनशील वस्तु डाक्टरको सिफारिसबिना बिक्री वितरण गर्ने गरेको र विभिन्न औषधि मिलाएर लागूऔषधका रूपमा युवाहरूलाई बिक्री वितरण गर्ने गरेको पाइएपछि इलाका प्रहरी कार्यालय बुटवलले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ८ घर भएका बिकले केही समययता सो स्थानमा मेडिकल सञ्चालन गर्दै आएका थिए ।

पेट दुख्दा खाने औषधि डाइसाकोमिन पृगावलेन जो दुखाई कम गर्न खाने गरिन्छ यी दुई औषधि मिलाएर लागूऔषध प्रयोगकर्तालाई ठूलो परिमाणमा बिक्री गरेको प्रहरी भनाइ छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले लागूऔषध प्रयोगकर्ताहरूको सूचनाको आधारमा मेडिकलमा पुगेर सञ्चालकलाई नियन्त्रणमा लिएको बताउनुभयो ।

डाक्टरको सिफारिसबिना औषधि बिक्री वितरण गरेको केही औषधिहरू लागूऔषधका रूपमा प्रयोग गर्ने गरी मिलाएर बिक्री गरेको पाइएको उहाँको भनाइ छ । प्रहरीले मेडिकल सञ्चालकको घरबाट ठूलो परिणाममा त्यस्ता औषधि फेला परेको बताएको छ ।

प्रहरीले केही लागूऔषध प्रयोगकर्ता र मेडिकल सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको हो । स्थानीयका अनुसार ती सञ्चालक राती अबेरसम्म र बिहानपनि निकै छिटो मेडिकल पसल खोल्ने गरेकाले आशङ्का बढाएको थियो ।  औषधि व्यवसायी संघ रुपन्देहीले डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्नु गैरकानुनी रहेको प्रष्ट पारेको छ ।

 ‘छुट्टाछुट्टै बेचेमा ती पेट र नशाका औषधी नै हुन् तर मिसाएर ठूलो परिणाममा बेचेको प्रहरीले भेटाएको छ, सबै विषय अनुसन्धानपछि खुल्नेछ, हरेक व्यवसायीले आफ्नो जिम्मेवारी र कर्तव्यअनुसार चल्न सक्नुपर्छ’संघका उपाध्यक्ष नारायण थापाले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button