तपाईँ सुन्दै हुनुहुन्छः

प्रजनन स्वास्थ्य र हानिकारक प्रचलन सम्बन्धी किशोर–किशोरी प्रशिक्षण

बैतडी । बैतडीको मेलौली नगरपालिका वडा न-२ र ३का किशोर–किशोरीहरूलाई प्रजनन स्वास्थ्य तथा समाजमा व्याप्त हानिकारक प्रचलनहरूको अन्त्य सम्बन्धी प्रशिक्षण  सम्पन्न भएको  छ । दलित समाज विकास मञ्च बैतडीले यी दुई वडामा रहेका ४ विद्यालयका किशोर किशोरी समूहलाई प्रशिक्षण दिएको हो । मञ्चले गठन गरेका किशोर किशोरी समूहमा प्रशिक्षण दिई जनचेतना अभिवृद्धि गर्दैआएको मञ्चका कार्यक्रम संयोजक जयराम विश्वकर्माले बताउनुभयो । 

विगतमा प्रजनन स्वास्थ्यका विषयमा कुरा गर्न लजाउने प्रवृत्ति हट्दै गएको मेलौली नगरपालिकाका नगर प्रमुख भीम बहादुर चन्दले बताउनुभयो । मेलौली–०२ स्थित सलेना स्वास्थ्यचौकीमा आयोजित प्रजनन स्वास्थ्य सम्बन्धी प्रशिक्षण कार्यक्रममा उपस्थित भएका चन्दले स्कुलमा प्रजनन स्वास्थ्य सम्बन्धी नपढाउने प्रवृत्ति अन्त्य भएको उहाँले बताउनुभयो । विगतको तुलनामा लैङ्गिक हिंसा न्यूनीकरण भएको उहाँको भनाई छ । किशोरावस्थामै प्रजनन् स्वास्थ्यको ज्ञान दिने तालिमहरू सञ्चालन हुनु सकारात्मक पक्ष रहेको नगर प्रमुख चन्दको भनाई छ । नेकपा(एमाले) बैतडी जिल्ला सचिवालय सदस्य जगदीश नायकले प्रजनन् स्वास्थ्य बारे जनचेतना अभिवृद्धि गर्दा स्वास्थ्य समस्याहरू समाधान हुने बताउनुभयो । 

मेलौली २का वडाअध्यक्ष कृष्णदत्त भट्टले किशोर -किशोरीले बालविवाह प्रजनन् स्वास्थ्यबारे छलफल सञ्चालन गर्दै आएकोमा वडाबाट आवश्यक सहयोग गर्ने बताउनुभयो । मञ्चकी अध्यक्ष सरस्वती नेपालीले वडा न. २ र३मा किसोरकिसारी समूहहरू गठन गरि जनचेतनामूलक कार्यक्रम गर्दै आएको बताउनुभयो । 

यसैगरी मेलौली–३ लिखोडा स्थित सुदर्शन माविका विद्यार्थीहरुसंग सोमबार बालविवाह न्यूनीकरण सम्बन्धी १दिने छलफल कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा बालविवाह, लैङ्गिक हिंसा, छाउपडी प्रथा, जातीय भेदभाव तथा छुवाछुत लगायत हानिकारक प्रचलनका विषयमा छलफल गरिएको हो । 

छलफलमा विद्यार्थीहरूले गाउँ समाजमा व्याप्त रहेको हानिकारक प्रचलन अन्त्यको अभियानमा लागेको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक सुरत बहादुर चन्दले हानिकारक प्रथाको अन्त्य गरि समतामुलक समाज निर्माणमा सरकारी तथा गैरसरकारी निकायको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । 

दलित समाज विकास मञ्चकी अध्यक्ष सरस्वती नेपालीले सबै प्रकारका विभेदहरूको अन्त्यका लागि नयाँ पुस्ताले समेत सोच परिवर्तन गर्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button