तपाईँ सुन्दै हुनुहुन्छः

जुम्ला घोषणापत्र जारी गर्दै सकियो प्रथम अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन 

जुम्ला । जुम्लामा पहिलोपटक आयोजित प्रथम ‘अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन’ सम्पन्न भएको छ । अमेरिकास्थित हार्वर्ड युनिभर्सिटीको आयोजना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको समन्वयमा  सञ्चालित दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन ‘जुम्ला घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको हो । 

सम्मेलनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिवार बिहान उद्घाटन गरिएको थियो । नेपालमै पहिलोपटक जुम्लामा वैशाख २२ गते ‘सबैको मानसिक स्वास्थ्यका लागि नवप्रवर्तन तथा सहकार्य’ नारासहित सम्मेलन सुरु भएको थियो । 

दुई दिनसम्म सञ्चालन भएको  सम्मेलनमा मानसिक रोगसम्बन्धी करिब ५० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । नेपालको कर्णाली जस्तो दुर्गम क्षेत्रमा अझै मानसिक स्वास्थ्यको आवश्यक चेतना पुग्न नसकेकोले व्यापक मानसिक स्वास्थ्य सम्बन्धी ज्ञान विस्तार गर्नुपर्नेमा जोड दिँदै सम्मेलनले जुम्ला घोषणापत्र जारी गरेको छ । 

मानसिक स्वास्थ्य समस्याको ठूलो खाडल र देशमा उपलब्ध सेवा र विशेष मानसिक स्वास्थ्य जनशक्तिको अभावलाई पहिचान गर्दै त्यसलाई पूरा गर्न नवप्रवर्तन र सहकार्यको खाँचोका साथ सम्मेलनको आयोजना गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर मङ्गल रावलले बताउनुभयो । 

जुम्लामा घोषणापत्रमा नेपालमा सामुदायिक मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्थाहरूले समुदायमा विद्यमान सेवाहरूलाई सुदृढ गर्न र नेपालमा सबैको लागि मानसिक स्वास्थ्यको एजेन्डामा योगदान पु¥याउन सहकार्य  गर्ने उल्लेख गरिएको छ । 

सम्मेलनका साझेदार संस्थाहरूले कर्णाली प्रदेशका सबैका लागि मानसिक स्वास्थ्य प्राप्त गर्नका लागि केएचएसको मनोचिकित्सक विभाग, प्रादेशिक अस्पताल र प्रादेशिक÷स्थानीय सरकारहरूलाई काम गर्ने अवसरहरू खोज्ने जनाइएको छ ।

सम्मेलन समापनको क्रममा  बोल्दै अमेरिकास्थित हार्वर्ड युनिभर्सिटीका सहायक प्राध्यापक डाक्टर श्रीधर पौडेलले कर्णाली क्षेत्रको मानसिक स्वास्थ्यमा रहेको समस्या समाधानको लागि काम गरिने बताउनुभयो ।  

उहाँका अनुसार पहिलोपटक सञ्चलन गरिएको सम्मेलन सफलतापूर्वक सम्पन्न भएको भन्दै आगामी वर्षपनि सम्मेलन सञ्चालन गरिनेछ । आगामी वर्षमा  प्रदेश र स्थानीय सरकारसँग मिलेर काम गरिने पौडेलको भनाइ छ । सम्मेलनले कर्णालीको मानसिक स्वास्थ्य सम्बन्धि देखिएको समस्या समाधानमा भूमिका खेल्ने उहाँको भनाई छ । सम्मेलनमा दुई सय बढीको सहभागिता रहेको थियो ।  दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन आगामी वर्ष पनि हुने भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button