तपाईँ सुन्दै हुनुहुन्छः

सरकार निजी क्षेत्रमैत्री रहेको पुष्टि : अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले व्यवहारमै सरकार निजी क्षेत्रमैत्री रहेको पुष्टि भएको बताउनुभएको छ ।

राजश्व परामर्श समिति र निजी क्षेत्रका छाता सङ्गठनहरूबिच आगामी बजेटबारे मन्त्रालयमा भएको अन्तरक्रियामा मन्त्री पुनले पछिल्लो समय सरकारले निजी क्षेत्रमैत्री वातावरण निर्माण गरेको बताउनुभयो ।

लगानी अनुकूल वातावरण निर्माणका लागि अध्यादेशमार्फत विभिन्न ८ वटा कानुनमा गरिएको सुधार तथा लगानी सम्मेलनमा निजी क्षेत्रको सक्रिय सहभागिताले सरकार निजी क्षेत्रमैत्री रहेको पुष्टि भइसकेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बारम्बार आगामी बजेटमा सरकार आफैँले र निजी क्षेत्रसँगको सहकार्यमा उत्पादन र उत्पादकत्व वृद्धिका कार्यक्रमलाई प्राथमिकतामा राख्न आफूलाई दिशानिर्देश गरिरहेको जानकारी मन्त्री पुनले दिनुभयो । मन्त्री पुनले आफूले यसअघि नै सार्वजनिक मञ्चबाट करका दर हेरफेर गर्दा कसैलाई पोस्ने र कसैलाई निरुत्साहित नगरिने प्रतिबद्धता जनाएको स्मरण गर्नुभयो । अर्थतन्त्रमा राम्रो योगदान गरिरहेको, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने तथा देशलाई अगाडि बढाउने नीतिमा परिवर्तन नगरिने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

फरक प्रसङ्गमा मन्त्री पुनले लगानी सम्मेलन भव्य रूपले सम्पन्न भएको उल्लेख गर्नुभयो । लगानी सम्मेलनमा सरकार र प्रतिपक्षी दलका नेताबाट लगानी मैत्री वातावरणबारे व्यक्त समान धारणाले आर्थिक नीतिमा सिङ्गो देश एकै ठाउँ रहेको सन्देश गएको बताउनुभयो ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालसहित राष्ट्रिय उद्योग व्यापार संघ, नेपाल उद्योग व्यापार महासङ्घका पदाधिकारी र प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button