तपाईँ सुन्दै हुनुहुन्छः

मुग्लिन–पोखरा सडकको पश्चिम खण्डमा प्रिकाष्ट प्रविधिको पुल  

पोखरा । निर्माणाधीन मुग्लिन–पोखरा सडक अन्तर्गत पश्चिम खण्डका चार ठाउँमा प्रिकाष्ट प्रविधिबाट पुल राखिने भएको छ ।

सडक निर्माणमा लागिरहेको चिनियाँ ठेकेदार कम्पनी अनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले यहाँका म्याग्दे, कोत्रे, कुम्लेखोला र विजयपुरमा पुल निर्माणका लागि प्रिकाष्ट प्रविधिको प्रयोग गर्न लागेको हो ।

निर्माण कम्पनीले आज तनहुँको म्याग्दे खोला माथि प्रिकाष्ट प्रविधिबाट पुल राख्न सुरु गरेको चाइनिज कन्ट्याक्टरका इन्जिनियर अनुप श्रेष्ठले जानकारी दिनुभयो ।

निर्माण कार्यलाई तीव्रताका साथ अघि बढाइको बताउँदै उहाँले हालसम्म २३ प्रतिशत काम भएको जानकारी गराउनुभयो ।

निर्माण कार्यमा कतिपय ठाउँमा खानेपानी संस्थानका पाइप, विद्युतका पोलहरू आदिका कारणले समस्या पारेको उहाँले बताउनुभयो ।

कोभिडका कारण निर्माण कार्य छ महिना प्रभावित भएका कारण नेपाल सरकारले उक्त समयावधि थप्ने बताउँदै उहाँले त्यस बाहेक थप पाँच छ महिना भित्रमा सम्पूर्ण निर्माण कार्य सम्पन्न हुने जानकारी गराउनुभयो ।

जामुने पोखरा खण्डमा सर्वसाधारणको आवागमनलाई समेत दृष्टिगत गर्दै बन्न लागेको चार तथा छ लेनको बाटाको आधा भागको निर्माण सन् २०२४ को अन्त्यसम्ममा पूरा गरिने उहाँले बताउनुभयो । सडक निर्माण कार्य सन् २०२५ को मध्यदेखि अन्त्य सम्ममा सम्पन्न हुने उहाँको भनाइ छ ।

पोखरा महानगर प्रमुखद्वारा निर्माणाधीन सडकको अनुगमन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज निर्माणाधीन मुग्लिन–पोखरा सडक खण्डको स्थलगत अनुगमन गर्नुभएको छ । सञ्चारकर्मी सहित महानगर प्रमुख आचार्यले चिनिया निर्माण कम्पनीका प्रतिनिधिसँग निर्माणाधीन

सडकको अवस्थाका साथै आजदेखि प्रिकाष्ट प्रविधि मार्फत म्याग्दे खोलामा राख्न लागिएको पुल लगायतका विषयमा जानकारी लिनुभएको थियो ।

पर्यटकसँगै आम सर्वसाधारणलाई आवतजावत सहज बनाउन यथासक्य चाँडो सडक निर्माण गर्नुपर्ने अवस्थाका सम्बन्धमा सम्बद्ध निर्माण कम्पनी एवम् सरोकारवाला निकायसँग निरन्तर छलफल गरिरहेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button