तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य बिमा बापतको रकम भुक्तानी नहुँदा सेवा प्रवाहमा कठिनाइ

नवलपरासी,पश्चिम  । बीमा बापतको रकम भुक्तानी हुन नसक्दा अस्पतालहरू सेवा दिन नसक्ने अवस्थामा पुग्न थालेका छन् ।

पश्चिम नवलपरासीका स्वास्थ्य बिमा सेवा उपलब्ध दुई वटा अस्पताललाई सरकारले बीमा बापतको रकम भुक्तानी नगर्दा अस्पतालहरूको सेवा प्रवाह नै प्रभावित भएको छ । बिरामी भएर अस्पताल पुग्ने आम नागरिकका लागि समेत कठिन भएको छ । लामो समयसम्म भुक्तानी नहुँदा अस्पतालले थेग्न सक्ने अवस्था छैन।

सदरमुकाम परासीमा रहेको पृथ्वी चन्द्र जिल्ला अस्पताल र बर्दघाटमा रहेको चिसापानी अस्पताललाई बीमा बापतको झन्डै तीन करोड सोध भर्ना गर्न बाँकी छ । 

भुक्तानी नपाएपछि अस्पतालको सेवा प्रवाहमै असर परेको पृथ्वी चन्द्र अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.किरण पाण्डेले बताउनुभयो । पृथ्वी चन्द्र अस्पताललाई स्वास्थ्य बीमा बोर्डले बीमा बापतको १ करोड ९० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । 

“गत आर्थिक वर्ष पनि प्रत्येक महिनाको खर्चको आधारमा पुरा भुक्तानी भएको छैन”, मेसु पाण्डेले भन्नुभयो, “चालु आर्थिक वर्ष सुरु भएपछि त हालसम्म कुनै रकम अस्पतालको खातामा आएको छैन ।”

बिमा बापतको रकम भुक्तानी नहुँदा कर्मचारीहरूको तलब भत्ता, औषधी खरिददेखि ल्याबको लागि आवश्यक केमिकल समेत खरिद गर्न समस्या भएको छ । आवश्यक औषधि समेत रकम अभावकै कारण तत्कालै खरिद गर्न नसक्दा बिमा भएका बिरामीलाई पनि निःशुल्क औषधि वितरण गर्न नसक्ने अवस्था सृजना भएको डा.पाण्डेले बताउनुभयो । 

“औषधि तथा विभिन्न केमिकल खरिदका लागि टेन्डर आह्वान गर्ने हो, समयमा भुक्तानी हुन नसक्दा सप्लायर्सले पनि समयमै समान दिदैन्, निकै समस्या भएको छ”, डा.पाण्डेले गुनासो गर्नुभयो । 

पृथ्वी चन्द्र अस्पतालमा बिमावहाक बाहेकका बिरामी पनि आउने भएकाले हालसम्म सुचारु रूपले सेवा प्रवाह गर्न सकिएको अस्पताल प्रशासनले जनाएको छ । बीमावहाक बाहेकका बिरामीले भुक्तानी गर्ने रकमले जेनतेन सेवा प्रवाह भइरहेको उहाँले बताउनुभयो । 

“पृथ्वी चन्द्र अस्पतालमा अहिले बिरामीको चाप पनि बढेको छ । सबै बिरामी बिमावहाक हुने हो भने त बिमा सेवा बन्द नै गर्नुपर्छ तर ३० प्रतिशतभन्दा बढी बीमा नभएका बिरामी उपचारका लागि आउने भएकाले उनीहरूले तिर्ने शुल्कको आधारमा अस्पताल चल्न सकेको हो”, निमित्त मेसु पाण्डेले भन्नुभयो । 

यता बर्दघाटमा रहेको चिसापानी अस्पतालले पनि बिमा बापतको १ करोडभन्दा बढी रकम शोधभर्ना बापत पाउन बाँकी छ । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट मन्जिला घिमिरेले बिमा बापतको रकम भुक्तानी नहुँदा बिमा सेवा नै बन्द गर्नुपर्ने अवस्थाको सृजना भएको बताउनुभयो ।

चिसापानी अस्पतालमा गत आर्थिक वर्षको आंशिक मात्रै भुक्तानी भएको छ भने चालु आर्थिक वर्षको १० महिनाको पुरा भुक्तानी बाँकी रहेको घिमिरेले रेडियो नेपाललाई बताउनुभयो ।  

दुवै अस्पतालले स्वास्थ्य बिमा बापतको शोधभर्ना रकम तत्कालै पठाउन पटक पटक ताकेता गरे पनि स्वास्थ्य बिमा बोर्डले चासो नदिएको अस्पतालहरूको गुनासो छ । अब पनि आंशिक भए पनि भुक्तानी नभए अस्पतालले खर्च धान्न नसकेर बिमा सेवा बन्द गर्नुपर्ने बाध्यता सृजना हुने देखिएको छ । 

सरकारले २०७२ सालबाट स्वास्थ्य बिमाको सुरुवात गरेको थियो । सेवा  सुरु भएको स्वास्थ्य बिमाको ८ वर्ष बितिसक्दा समेत बिरामीले बिमाबापतको उपचारमा समस्या बेहोर्दै आइरहेका छन् । सेवा प्रदायक अस्पतालहरूले बिमा सुविधा उपलब्ध गराए बापतको रकम नै पाउन सकेका छैनन् । जसका कारण अस्पतालले नै सेवा दिन नसक्ने अवस्था सृजना हुन थालेको छ । उपचारको पहुँचमा पुग्न नसक्ने विपन्न नागरिकका लागि अत्यन्तै प्रभावकारी बनेको बिमा कार्यक्रम भुक्तानीको समस्या हुँदा आर्थिक अवस्था कमजोर भएका नागरिक सेवाबाटै वञ्चित हुने अवस्था आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button