तपाईँ सुन्दै हुनुहुन्छः

मनमोहनले सुरु गर्नुभएको वृद्ध भत्ता दक्षिण एसियाकै सामाजिक सुरक्षाको नमुना : पूर्व राष्ट्रपति भण्डारी

काठमाडौँ । नेकपा एमालेका पूर्व अध्यक्ष एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज नेकपा एमालेले विविध कार्यक्रम गरी मनाउँदै छ ।

यसै अवसरमा ललितपुरको सानेपामा मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेतृत्वको सरकारले सुरु गरेको वृद्ध भत्ता दक्षिण एसियामै सामाजिक सुरक्षाको नमुना कार्यक्रम भएको बताउनुभएको छ । 

पूर्व राष्ट्रपति भण्डारीले आफ्नो गाउँ, आफै बनाऔँ र ज्येष्ठ नागरिकका लागि वृद्ध भत्ता जस्ता लोकप्रिय कार्यक्रम लोककल्याणकारी कार्यको एक दृष्टान्त भएको बताउनुभयो । 

पूर्व राष्ट्रपति भण्डारीले मनमोहन अधिकारीको त्यति बेलाको स्पष्ट दृष्टिकोणले अहिले पनि ज्येष्ठ नागरिकप्रति राज्य, समाज र परिवारको दृष्टिकोण सकारात्मक हुनुका साथै जीवनयापनमा महत्त्वपूर्ण सहयोग पुगिरहेको बताउनुभयो । 

कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले शिक्षा क्षेत्रमा मनमोहन अधिकारीको विशेष रुचि भएकाले मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना भइसकेको र ज्येष्ठ नागरिकहरूलाई प्रतिष्ठानले सम्मान गर्दै आइरहेको जानकारी दिनुभयो । 

वरिष्ठ उपाध्यक्ष पोखरेलले अधिकारीले पुर्‍याएको  योगदानलाई चिरस्थायी बनाउन विभिन्न कार्यक्रमलाई निरन्तरता दिइरहेको र अहिलेका विद्यार्थी नेताहरूले मनमोहन अधिकारीको जीवनीबाट सिक्न जरुरी भएको  बताउनुभयो । 

कार्यक्रममा डा.बेदुराम भुषाल र ढाकाराम सापकोटाले लेख्नुभएको मनमोहन अधिकारीको जीवन गाथालाई समेटिएको पुस्तक ‘मनमोहन अधिकारी’ को विमोचन पूर्व राष्ट्रपति भण्डारी र एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले गर्नुभएको थियो ।  

कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई सम्मान र बिदाइ गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button