तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्यबारे सचेत गराउन स्वास्थ्यकर्मीलाई मुख्यमन्त्री अधिकारीको निर्देशन

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले हरेक नागरिकलाई स्वास्थ्यको बारेमा सचेत गराउन प्रदेशका स्वास्थ्यकर्मीलाई निर्देशन दिनु भएको छ । 

सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयले बुधबार पोखरामा आयोजना गरेको मुख्यमन्त्रीको स्वागत कार्यक्रममा सम्बोधन गर्दै उहाँले प्रदेशका नागरिकलाई स्वास्थ्यको बारेमा सचेत गराउन स्वास्थ्यकर्मीलाई निर्देशन दिनु भएको हो । 

घर घर तथा स्कुल स्कुलमा नर्स तथा स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिँदै मुख्यमन्त्री अधिकारीले व्यक्ति स्वास्थ्यको बारेमा सचेत रहनुले धेरै प्रकारका रोगहरूबाट बच्नु तथा बचाउनु भएको जनाउनु भयो । 

औषधीको, स्वास्थ्यकर्मी र इकुपमेन्टको गुणस्तर मापन गर्न अर्को प्राधिकरण गठन गर्ने केही बर्ष अघि घोषणा गरिए पनि आजसम्म त्यसलाई कार्यान्वयनमा ल्याउन नसकिएको उहाँको भनाई थियो । 

जनस्वास्थ्य ऐनले मौलिक हकका रुपमा कुनै पनि मानिस बिरामी भयो वा घाइते भयो अस्पतालमा आयो भने कसैले उपचार गर्दैन भन्न नपाउने उल्लेख गरिएकोले त्यसलाई समेत हाल पालना नगरेको जनाउनु भयो । चितवनको मेडिकल कलेजमा प्रहरी निरीक्षकले पैसाको अभावमा उपचार गर्न अस्पतालले नमाने पछि आफ्नो दर्जाको फुली राख्दा समेत उपचार नभएको घटना स्मरण गराउँदै उहाँले अब यस्ता घटना दोहोरिन नहुने बताउनु भयो । सङ्घीय सरकारका पूर्व स्वास्थ्य मन्त्री समेत रहनु भएको स्वास्थ्य क्षेत्रमा देखिएका विकृतिको अन्त्य गर्न सबै लाग्न आग्रह गर्नु भयो । 

स्वास्थ्य बिमा कार्यक्रम आफ्नो पालामा सुरु गरेको दाबी गर्दै मुख्यमन्त्री अधिकारीले हाल प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको गुनासो गर्नु भयो । 

मन्त्रालयका सचिव डा.बिनोद विन्दु शर्माले मन्त्रालयको स्वास्थ्यको बारेमा जानकारी गराउँदै प्रदेशको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन कम्तीमा ३ अर्ब बजेटको आवश्यक भएको बताउनु भयो । हाल २ अर्ब ६ करोडको बजेट स्वास्थ्य क्षेत्रमा रहे पनि १ अर्ब २० करोड जसो प्रशासनिक क्षेत्रमा खर्च हुने गरेको उहाँले बताउनु भयो । 

गण्डकी प्रदेशमा डायलासिस सेवा निकै प्रभावकारी भएको दाबी गर्दै सचिव डा. शर्माले प्रदेशमा ७ सय ७० जना सेवाग्राही मध्य ७ सय ४८ जनाले उक्त सेवा लिएको र १ सय २२ जना प्राविधिक कारणले पर्खाइमा रहेको उल्लेख गर्नु भयो । प्रशासन महाशाखाका उपसचिव चण्डीका पौडेलले प्रदेश सरकारले अझै पनि जग्गा प्राप्ति देखि बिशिष्टिकृत अस्पताल निर्माणमा ध्यान दिनुपर्ने बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button