तपाईँ सुन्दै हुनुहुन्छः

नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले अन्तर्राष्ट्रिय व्यापारबाट लाभ लिनका लागि विश्व व्यापार सङ्गठन (डब्लुटिओ)को सदस्यता लिएको २० वर्ष पुरा भए पनि अपेक्षित लाभ हुन नसकेको बताउनुभएको छ ।

मन्त्रालय द्वारा ‘नेपालको विश्व व्यापार सङ्गठनको सदस्यताको २० वर्षका अपेक्षा, उपलब्धि तथा आगामी कार्यदिशा’ विषयक आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “विकासशील मुलुकहरूलाई विश्व अर्थतन्त्रबाट सिर्जित लाभ लिन र बजार पहुँच दिलाउन स्थापित भएको यस सङ्गठनबाट केही अपवाद बाहेक अल्पविकसित मुलुकले आशा गरे अनुसार लाभ लिन सकिरहेको अवस्था छैन ।”

निर्यात सम्भाव्यता भएका राष्ट्रसँग द्धिपक्षिय व्यापार तथा लगानी सम्झौता गर्न सरकार, निजी क्षेत्र, अनुसन्धान संस्था लगायत सरोकारवालाको सहभागितालाई अर्थपूर्ण बनाउन जरुरी रहेकामा जोड दिँदै मन्त्री भण्डारीले अन्तर्राष्ट्रिय व्यापारको सम्भावना अध्ययन गरी वस्तुगत र देशगत निर्यात रणनीति तर्जुमा गरि अगाडि बढ्ने योजना आवश्यक देखिएको बताउनुभयो ।

मन्त्री भण्डारीले विश्व व्यापारको परिणाम अपेक्षाकृत आउन नसकेको उल्लेख गर्दै यसका लागि गम्भीर ढंगले राष्ट्रिय बहसको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा वाणिज्य सचिव दिनेशकुमार घिमिरेले निजी क्षेत्रबाट अपेक्षा राखेर निर्माण गरिएका नीतिले अपेक्षाअनुसार सफलता नपाउँदा पनि विश्व व्यापारमा नेपालको उपस्थिति कमजोर भएको बताउनुभयो ।

उद्योग सचिव कृष्णबहादुर राउतले विश्व व्यापार सङ्गठनको सदस्यता लिएको २० वर्ष भइसक्दा पनि नेपालले फाइदा लिन नसकेको बताउनुभयो । उहाँले विश्व व्यापार सङ्गठनको सदस्य भएपछि आश्वासन पाएअनुसार व्यापारमा नेपालले हिस्सा लिन नसकेको बताउनुभयो ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंह, निर्यात व्यवसायी महासङ्घका उपाध्यक्ष गोविन्द घिमिरे, मन्त्रालयको बहुपक्षीय महाशाखाका सहसचिव लीलाप्रसाद शर्मा लगायतले विश्व बजारमा नेपालको व्यापारमा पहुँच हुन नसक्दा र आयातमुखी व्यवसाय बढ्दो क्रममा रहेकाले व्यापार घाटा बढ्दो क्रममा रहेको बताउनुभयो । उहाँहरूले आयातमुखी व्यापारलाई प्रतिस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मन्त्रालयका उपसचिव लीलाधर अधिकारीले ‘डब्ल्यूटीओ सदस्यता: अपेक्षाहरू र उपलब्धिहरू’ विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button