तपाईँ सुन्दै हुनुहुन्छः

सुन्दर प्रणालीका रूपमा लोकतान्त्रिक शासन व्यवस्था  : प्रदेश प्रमुख शर्मा 

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सार्वभौमसत्ता जनतामा निहित रही जन निर्वाचित प्रतिनिधिबाट शासन सञ्चालन हुने सुन्दर प्रणालीका रूपमा लोकतान्त्रिक शासन व्यवस्था रहेको बताउनुभएको छ । लोकतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले अझ लोकतान्त्रिक आचरण, विश्वास र भरोसा जगाई लोकतन्त्रलाई सार्थकता प्रदान गर्न सबै पक्ष दृढताका साथ सदैव क्रियाशील रहनुपर्ने बताउनुभयो । 

प्रमुख शर्माले वैशाख ११ लाई नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको फलस्वरूप लोकतन्त्र स्थापना भएको दिनका रूपमा उल्लेख गर्दै यो व्यवस्था प्राप्त गर्नका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् शहीदहरूप्रति सम्मान गर्नुभएको छ । यस्तै, ‘जीवनलाई लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति समर्पित सम्पूर्ण लोकतान्त्रिक योद्धाहरू प्रति उच्च सम्मान प्रकट गर्दछु ।’ उहाँले आफ्नो सन्देशमा भन्नु भएको छ । 

वि.सं.२०६२÷०६३ सालको जनआन्दोलन सफल भई नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक र गौरवमय दिनका रूपमा हामी यो दिवस मनाउने गरिएको भन्दै प्रमुख शर्माले अहिले हामीले उपयोग गरिरहेको स्वतन्त्रताको अधिकार विगतका विभिन्न कालखण्डमा नेपाली सपुतहरूको सङ्घर्ष तथा बलिदानको प्रतिफल भएको उल्लेख गर्नुभएको छ ।

प्रमुख शर्माले सन्देशमार्फत आस्थाको छानो, विश्वासको पर्खाल र भरोसाको स्तम्भहरूमा खडा भएको यो लोकतान्त्रिक परिपाटीको रक्षा, विकास र संविधानले परिकल्पना गरेको समाजवादसम्म पुग्न हामी सबैलाई आजको दिनले प्रेरित गर्न सकोस् भन्ने शुभकामना समेत गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button