तपाईँ सुन्दै हुनुहुन्छः

भूमिगत सिँचाइका लागि धनौजी गाउँपालिका र विद्युत् प्राधिकरणबीच सहकार्य

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाले भूमिगत सिँचाइ योजना सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरेको छ ।  

योजना सञ्चालनका लागि पालिकाले चालु आर्थिक वर्षमा २ करोड १३ लाख ५० हजार रकम प्राधिकरणमा जम्मा गरेको छ भने विद्युत् प्राधिकरणले जनकपुर वितरण केन्द्रमार्फत योजना निर्माणमा थप ५३ लाख ३७ हजार ५ सय पूर्वाधार निर्माणमा लगानी गर्नेछ । 

धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साहले प्राधिकरणलाई पालिकाका तर्फबाट बुझाउनुपर्ने रकम बैङ्कमा जम्मा गरेको भौचरसहितको चेक प्राधिकरणको जनकपुर वितरण केन्द्रका प्रमुख सुनिल कुमार महतोलाई आज हस्तान्तरण गर्नुभयो । 

चेक हस्तान्तरण गर्नुहुँदै अध्यक्ष साहले प्राधिकरणले चाँडै विद्युतीकरणको काम गर्ने विश्वास व्यक्त गर्नुभयो । 

भूमिगत सिँचाई योजना अन्तर्गत पालिकाका विभिन्न वडामा विद्युतीकरणसहितको अन्य पूर्वाधारको निर्माण गरिनेछ । धनौजी गाउँपालिकाको वडा नंं १ देखि ५ वडासम्म विद्युत् सिँचाइका लागि योजना सञ्चालन गरिने पालिकाले जनाएको छ । 

पालिकाले १ वडामा न्यूनतम ३० लाखदेखि अधिकतम ६० लाखको भूमिगत सिँचाइका लागि विद्युत्को संरचनाको निर्माण गर्नका लागि बजेट विनियोजन गरेको छ । 

पालिकाले कृषि उत्पादन बढाउन तथा किसानलाई सहुलियत दिन विद्युत् सिँचाइका लागि आवश्यक पर्ने पूर्वाधारको निर्माण गर्न लागेको हो । 

पालिका तथा विद्युत् प्राधिकरणको सहकार्यमा किसानलाई सस्तो दरमा विद्युत् सिँचाइका लागि पूर्वाधारको निर्माण भएसँगै यहाँका किसान प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button