तपाईँ सुन्दै हुनुहुन्छः

हीरक जयन्तीले सिङ्गो राष्ट्र एक ठाउँमा छ भन्ने भाव दिएको छ : प्रधानमन्त्री 

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेले आयोजना गरेको हीरक जयन्तीले सिङ्गो राष्ट्र एक ठाउँमा छ भन्ने भाव दिएको बताउनुभएको छ । 

ललितपुरको गोदावरीमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष पुरा भएको अवसरमा आयोजित हीरक जयन्तीका अवसरमा प्रधानमन्त्री प्रचण्डले सबै राजनीतिक दलहरूको समझदारी, सहमति र एकताबाट मुलुकले ठुला सफलता हासिल गरेको बताउनुभयो । 

उहाँले आज मुलुक संविधान कार्यान्वयनको विन्दुमा भएकाले यसमा सबै राजनीतिक दलहरू इमानदार भएर लाग्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले अहिले नै कम्युनिष्ट एकता नभए पनि दलहरुबीचको सहकार्य तथा समझदारीबाट जनता र राष्ट्रलाई सेवा दिने बताउनुभयो । 

यसैगरी कार्यक्रममा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरू बीचको सहकार्यले मुलुकले ठुलो उपलब्धि हासिल गरेको बताउनुभयो । 

सभापति देउवाले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको र संवाद, सहमति तथा सहकार्यका माध्यमबाट मुलुकका समस्याको समाधान खोजिनुपर्ने बताउनुभयो । 

सभापति देउवाले संसद्लाई राष्ट्रको हितमा क्रियाशील बनाउँदै प्रतिपक्ष दलले उठाएको विषयलाई गम्भीरतापूर्वक र सकारात्मक रूपमा लिनुपर्ने बताउनुभयो ।  

यसैगरी, नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले आयोजना गरेको नेकपा स्थापनाको हीरक जयन्ती आगामी दिनमा पार्टीले गर्ने कामको सङ्कल्प गर्ने दिन भएको बताउनुभयो । 

अध्यक्ष ओलीले लामो सङ्घर्षपछि नेपालीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेकाले यसको संरक्षण सबैले गर्नुपर्ने बताउनुभयो । 

अध्यक्ष ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प पुरा गर्ने अभिभारा एमालेको काँधमा रहेको भन्दै त्यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । अध्यक्ष ओलीले सामाजिक सद्भाव कायम गर्दै राष्ट्रिय एकता कायम गर्नु सबैको जिम्मेवारी भएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button