तपाईँ सुन्दै हुनुहुन्छः

प्रतापपुरको नयाँ अभ्यास :शैक्षिक रोजगारी सँगै शिक्षक अभाव सम्बोधन

नवलपरासी,पश्चिम् । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले शैक्षिक बेरोजगारीलाई समेट्ने प्रयास गरेको छ ।पालिकामा रहेका शैक्षिक बेरोजगारहरूलाई सम्बोधन गर्दै उनीहरूलाई योग्यता अनुसारको अवसर प्रदान गरिएको छ ।

पालिकामा सूचीकृत भएकाहरूलाई छनौट गरी उनीहरूलाई योग्यता अनुसार नै पालिका भित्र रहेका सामुदायिक विद्यालयमा अध्यापन गराउने अवसर प्रदान गरिएको छ ।

यसले शिक्षक अभावको समस्या सँगै रोजगारी समेत सृजना गर्ने विश्वास लिइएको छ ।”अध्यक्ष शैक्षिक बेरोजगार सम्बोधन कार्यक्रम “मार्फत यो अभियानको सुरुवात गरिएको हो ।

शिक्षक अभावको समस्या समाधान गर्न शैक्षिक बेरोजगार सम्बोधन कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । जसबाट माध्यमिक तह (कक्षा १२) उत्तीर्ण गरेर पनि बेरोजगार बसिरहेका युवायुवतीले विद्यालयमा अध्यापनको काम पाएका छन् भने शिक्षक अभावको समस्या पनि केही हद सम्म समाधान भएको छ ।”अहिले सामुदायिक विद्यालयमा शिक्षक अभाव छ अर्का तिर शैक्षिक जनशक्ति बेरोजगार छन् ।त्यसैले हामीले यो कार्यक्रमको परिकल्पना गरेका हौ,स्थानीय स्तरमा रोजगारी सृजना गर्नु पनि हाम्रो दायित्व हो “अध्यक्ष उमेशचन्द्र यादवले भन्नू भयो ।

उक्त कार्यक्रम मार्फत गाउँपालिकाले चालु आर्थिक वर्षमा ४० लाख बजेट विनियोजन गरेको छ । सुरुमा कक्षा १२ वा स्नातक तहमा अध्ययनरत तथा स्नातक तह वा सो भन्दा माथिको योग्यता पुरा गरेर अन्य रोजगारीको अवसर नपाएकालाई समेट्ने गरी गाउँपालिकाले गत वर्ष कार्यविधि निर्माण गरेको थियो ।

सोही कार्यविधिको आधारमा शैक्षिक बेरोजगार सूचीकृत गर्ने क्रममा १ सय ८८ जना सूचीकृत भएका थिए । ती मध्ये हाल २३ जनाले प्रा.वि. तहमा अध्यापन गराइरहेको अध्यक्ष यादवले बताउनुभयो ।सीमित स्रोत र साधनका बाबजुद पालिका भित्र रहेका दक्ष जनशक्तिको उच्चतम सदुपयोग गर्दा समग्र पालिकाको विकासमा टेवा पुग्ने अध्यक्ष यादवको भनाई छ ।

पालिकाले विद्यालयमा हाजिर भई अध्यापन गराएको दिनको आधारमा मात्र सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने व्यवस्था गरेको छ । कुनै पनि व्यक्ति एक पटक छनौट भएपछि उक्त अध्यापन अनुमति एक आर्थिक वर्ष मात्र कायम रहने र गाँउसभा बाट बजेटको व्यवस्था भएमा पुन निरन्तरता पाउने कार्यविधिमा उल्लेख छ ।

प्रतापपुरमा २३ ओटा सामुदायिक विद्यालयमा २ सय ३५ शिक्षकले अध्यापन गराउँदै आएका छन् । अझै पनि ५० जना शिक्षक अपुग रहेको गाउँपालिकाले जनाएको छ ।

घोषणापत्रमा उल्लेख गरेअनुरूप काम भइरहेको बताउँदै अध्यक्ष यादवले धेरै काम सम्पन्न हुने चरणमा रहेको यादवले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button