तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा बैठक : निःशुल्क स्वास्थ्य उपचार सुनिश्चितता सम्बन्धी सङ्कल्प प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा निःशुल्क स्वास्थ्य उपचार सुनिश्चितता सम्बन्धी सङ्कल्प प्रस्ताव पारित भएको छ । 

बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले पेश गर्नुभएको निःशुल्क स्वास्थ्य उपचार सुनिश्चितता सम्बन्धी सङ्कल्प प्रस्ताव पारित भएको हो ।

सङ्कल्प प्रस्ताव माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले संविधानले व्यवस्था गरे अनुसारको आधारभूत एवं आकस्मिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री यादवले स्थानीय स्तरमा रहेका आधारभूत स्वास्थ्य संस्थाहरूमा आवश्यक पूर्वाधार एवं चिकित्सक तथा कर्मचारीहरूको दरबन्दी थप गर्न पहल भइरहेको पनि बताउनुभयो ।

यसअघि सभाको बैठकमा विभागीय मन्त्री उपस्थित हुनुपर्ने भन्दै सांसदहरुले विरोध जनाएपछि केही बेरका लागि बैठक स्थगित भएको थियो । 

सङ्कल्प प्रस्ताव माथिको छलफल चलिरहँदा प्रस्तावकर्ता कमला पन्तले विभागीय मन्त्रीको उपस्थिति विना छलफल अगाडि बढ्न नसक्ने भन्दै उठेर विरोध जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाको बैठक केही बेरका लागि स्थगित गर्नुभयो ।   

यस अघि बैठकमा सङ्कल्प प्रस्ताव पेश गर्नुहुँदै विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले नेपालको संविधानले मौलिक हकका रुपमा स्थापित गरेको स्वास्थ्य उपचारको हकलाई कार्यान्वयनमा लैजान सङ्कल्प प्रस्ताव पेश भएको बताउनुभयो । 

प्रस्ताव माथिको छलफलमा भाग लिने संसदहरुले स्वास्थ्य उपचारमा भइरहेको व्यापारिकरणलाई निरुत्साहित गर्न राज्यको हस्तक्षेपकारी उपस्थिति जरुरी रहेको बताउनुभयो । 

सांसदहरूले स्थानीय तथा क्षेत्रीय स्तरका अस्पतालहरूको स्तरउन्नती गर्नुपर्ने, चिकित्सक एवं स्वास्थ्यकर्मीहरूलाई ग्रामीण क्षेत्रमा गएर काम गर्न उचित प्रोत्साहन गर्नुपर्ने, स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनुपर्ने र उपचारको अभावमा कोही–कसैको ज्यान जाने अवस्था नरहने गरी स्वास्थ्य सेवा सस्तो, सुलभ र सबै नागरिकको पहुँचमा पुर्‍याउनुपर्नेमा सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।

यस्तै राष्ट्रिय सभाको आजको बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी शाहले पेश गर्नुभएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button