तपाईँ सुन्दै हुनुहुन्छः

चीनमा मालवाहक जहाज डुङ्गासँग ठोक्किँदा आठको मृत्यु

बेइजिङ । एक साताअघि दक्षिणी चिनियाँ टापु हेनान नजिकै एउटा मालवाहक जहाज र माछा मार्ने डुङ्गा ठोक्किएपछि बुधबार आठ जनाको मृत्यु पुष्टि भएको सरकारी सञ्चारमाध्यमले बताएको छ । 

सिन्ह्वा समाचार समितिका अनुसार पनामाको ध्वजाअन्तर्गत सञ्चालनमा रहेको एसआइटिसी दनाङ कन्टेनर जहाज अप्रिल ३ को मध्यरात लगत्तै माछा मार्ने डुङ्गासँग ठोक्किएको थियो । त्यसको असरले माछा मार्ने डुङ्गा डुबेको थियो र त्यसमा सवार आठ जना पानीमा खसेका थिए । 

बुधबार दिउँसो बेपत्ता सबै आठ जनाको शव बरामद गरिएको छ र धेरै जहाज र विमान सामेल भएको उद्धार कार्य समाप्त भएको छ । सरकारी प्रसारक सिसिटिभीले गत साता प्रकाशन गरेको तस्बिरमा दुर्घटना भएको स्थानमा एउटा उज्यालो सुन्तला रङको आपत्कालीन जीवन बेडालाई समुद्री क्षेत्रमा तैरिरहेको देखाइएको थियो । यद्यपि त्यहाँ कुनै पनि व्यक्तिलाई देखिएको थिएन । 

समाचारअनुसार हेनानको सुदूर दक्षिण पश्चिमी तटमा रहेको यिङ्गेहाई सहरबाट करिब ४० किलोमिटर टाढा दुर्घटना भएको थियो । पनामाको कन्टेनर जहाजलाई हेनानको सान्या बन्दरगाहमा राखिएको छ र दुर्घटनाको अनुसन्धान भइरहेको छ । रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button