तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा कृषि जैविक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

पोखरा । पोखराको पाँचतारे होटल पोखरा ग्राण्डमा आज (मङ्गलवार) देखि कृषि जैविक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । चार दिन चल्ने उक्त सम्मेलनमा नेपाल सहित ३२ देशका १ सय ७३ जना सहभागी हुनुभएको छ ।

फरेष्ट एण्ड फार्म प्रोड्यूसर अर्गनाइजेसनको आयोजनामा पोखरामा सुरु भएको उक्त तालिमको उद्घाटन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी शाहले नेपालमा ६ हजार ६ सय १८ प्रजातिका बाली उत्पादन हुने गरेको बताउनुभयो ।

उहाँले रैथाने बाली संरक्षण चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमबाट रैथाने बाली संरक्षणमा थप टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । मन्त्री शाहले नेपाल जैविक विविधताको धनी देश भएको दाबी गर्दै यसबाट नेपालले फाइदा लिन नसकेको जनाउनुभयो ।

लोपोन्मुख रैथाने बालीको संरक्षण गर्दै प्रविधिको प्रयोग गरेर उत्पादन वृद्धि गर्ने, वातावरण अनुकूलन गर्ने, कार्य सहज बनाउँदै दिगो उपयोगिता गर्न जरुरी रहेको बताउँदै मन्त्री शाहले गुणात्मक विकास गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा वन तथा वातावरण मन्त्री नवलकिशोर शाह सुडीले जैविक विविधता संरक्षणको जिम्मेवारी विशेष गरी किसानहरुले नै गर्नुपर्ने बताउनुभयो ।

फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसनका नेपाल र भुटान प्रतिनिधि केन सिमिजुले जैविक विविधता जोगाउनु चुनौतीपूर्ण रहेको बताउनुभयो । जैविक विविधतामा नेपाल धनी भएकाले जलवायु परिवर्तनको जोखिम पनि बढ्दो रुपमा रहेको उहाँको भनाई थियो ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) का अध्यक्ष ठाकुर भण्डारीले प्रविधिको प्रयोग मार्फत कृषि उत्पादन बढाउँदा जैविक विविधताको संरक्षणमा ध्यान दिन आग्रह गर्नुभयो ।

आइआइइडीका वन डाइरेक्टर डन्कन म्याक्विनले नेपाल जैविक विविधीकरणको केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो ।

फरेष्ट एण्ड फार्म फ्यासिलिटीका म्यानेजर लुइस मिगुईल अपारिसियोले सामाजिक, आर्थिक परिवर्तनसँगै वातावरण सन्तुलन कायम राखेर जलवायु परिवर्तन न्यूनीकरणका लागि उत्थानशील हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपालबाट १ सय जना कृषि विशेषज्ञ, कृषि क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधि तथा सरकारी अधिकारीहरूको सहभागिता रहेको छ भने अन्य ७३ जना अन्य ३१ देशका प्रतिनिधिहरू रहनुभएको छ ।

वन तथा कृषि उत्पादक सङ्घहरूको समेत सम्मेलनमा सहभागिता रहेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनकी वन तथा कृषि सहज कार्यक्रमकी नेपाल सहजकर्ता रक्षा शाहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button