तपाईँ सुन्दै हुनुहुन्छः

‘रसियामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिइएको छैन’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रसियामा वैदेशिक रोजगारीका लागि जान नयाँ श्रम स्वीकृति नदिइएको स्पष्ट पार्नुभएको छ ।

यही चैत्र २२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री शर्माले रसियाका लागि नयाँ श्रम स्वीकृति नदिइएको बताउनुभयो ।

मन्त्री शर्माले यस अगाडि नै रसियामा वैदेशिक रोजगारीमा गएर बिदामा नेपाल फर्किएका व्यक्तिहरूलाई मात्र पुनः रसिया जानका लागि स्वीकृति दिने व्यवस्था मिलाइएको स्पष्ट पार्नुभयो ।

मन्त्री शर्माले राष्ट्रिय भूमि आयोग खारेज भएसँगै अहिले भूमिहीनहरूका लागि जग्गाधनी प्रमाणपत्र वितरणको काम पनि रोकिएको र सरकारले छिट्टै उपयुक्त निर्णय लिने पनि बताउनुभयो ।

सञ्चार मन्त्री शर्माले पत्रकार सम्मेलनमा दिनुभएको जानकारी अनुसार चैत्र २२ गतेको मन्त्रीपरिषद् बैठकले नेपाल सरकार र अन्य मुलुकबीच गरिने द्विपक्षीय लगानी सम्झौताको नमुना ढाँचा स्वीकृत गरेको छ ।

यस्तै बैठकले ठूला आयोजना कार्यान्वयन, अनुगमन तथा सहजीकरण निर्देशिका २०८० स्वीकृत गर्ने, नेपाल खानेपानी संस्थान कर्मचारी सेवा सर्तसम्बन्धी विनियमावली २०८० सम्बन्धित मन्त्रालयमा फिर्ता लिने, संघीय संसद् सचिवालयमा दर्ता भएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिन स्वीकृति प्रधान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय कृषि विकास कोषबाट प्राप्त हुने करिब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्नेसम्बन्धी दस्ताबेजलाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने लगायतका निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button