तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुर शैक्षिक र स्वास्थ्यको हब बन्दैछ : पूर्व मुख्यमन्त्री पौडेल

मकवानपुर । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुर जिल्ला शैक्षिक एवम् स्वास्थ्यको हबका रुपमा विकास भइरहेको बताउनुभएको छ ।

शैक्षिक सहयोग अक्षयकोष मकवानपुरको पाँचौँ वार्षिक साधारण सभाको शनिबार हेटौँडामा उद्घाटन गर्नुहुँदै उहाँले मकवानपुरमा स्वास्थ्य र शिक्षासम्बन्धी पाँच वटा विश्वविद्यालय नै सञ्चालनमा रहेको भन्दै बिस्तारै शैक्षिक र स्वास्थ्यको हबका रुपमा विकास भइरहेको बताउनुभयो ।

उहाँले हेटौँडामा वन विज्ञान विश्व विद्यालय, कृषि विश्व विद्यालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, मदन भण्डारी विश्व विद्यालय (थाहा नगरपालिका, चित्लाङ) सञ्चालनमा आइसकेको र मकवानपुर विश्व विद्यालय (प्रदेश विश्व विद्यालय) सञ्चालनको क्रममा रहेको बताउनुभयो । अबको १५ दिनपछि मकवानपुर क्याम्पस प्रदेश विश्वका रुपमा सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

उहाँले विद्यार्थीलाई छात्रवृतिसंगै अभिभावकलाई पढाइप्रति प्रेरणाको खाँचो औँल्याउँदै यसतर्फ पनि ध्यान दिन आग्रह गर्नुभयो ।

संस्थाका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएको साधारण सभाका अवसरमा कक्षा १० देखि १२ सम्मका १० जना बिद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरिएको थियो । संस्थाले कक्षा ११ र १२ का ६ जनालाई जनही १० हजारका दरले र कक्षा ९ र १० का ३ जनालाई ८ हजारका दरले छात्रवृत्ति प्रदान गरेको थियो ।

संस्थाको वार्षिकोत्सवका अवसरमा रेडियो नेपालकर्मी बिश्वराम अधिकारी (विवश) र संस्थाका सचिव बद्रीबहादुर पाठकलाई समेत प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा संविधानसभा सदस्य अनन्त पौडेल, ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी लगायत जिल्लाका विशिष्ट व्यक्तिहरूको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button