तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक: संघीय निजामती सेवा विधेयकमा सैद्धान्तिक छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा संघीय निजामती सेवा विधेयकमा सैद्धान्तिक छलफल सुरु भएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सदनमा प्रस्तुत गर्नुभएको संघीय निजामती सेवा विधेयकमा सैद्धान्तिक छलफल सुरु भएको हो । 

छलफलमा सांसदहरुले निजामती सेवामा कस्तो व्यक्तिलाई प्रवेश गराउने भन्ने मुख्य विषय भएको भन्दै प्राज्ञिक हिसाबले काविल र नैतिक हिसाबले प्रतिबद्ध व्यक्ति निजामती सेवामा आवश्यक रहेको धारणा राख्नुभयो । 

सांसदहरुले निजामती सेवामा एउटा मात्र आधिकारिक सङ्गठन राख्नुपर्ने, निजामती सेवा समावेशी र सेवाग्राहीप्रति उत्तरदायी बनाउनुपर्ने लगायतका विषयहरू उठाउनुभयो । 

सांसदहरुले कर्मचारीमा हुने हुकुमी शासनको अन्त्य गर्नुपर्ने, राजनीतिभन्दा टाढा राख्नुपर्ने, कर्मचारीहरू विदेशी सङ्घसंस्थामा जाने आशक्ति रोक्नुपर्ने, झन्झटिलो प्रक्रियामुखी प्रणालीको अन्त्य गर्नुपर्ने लगायतका धारणाहरू राख्नुभयो । 

यसअघि, विशेष समयमा बोल्दै सांसदहरुले कानुन निर्माण, संसद्को प्रभावकारिता लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

बैठकमा सांसदहरुले ‘ल्याण्डफिल्ड साइट’ प्रभावित जनताको समस्या, संसदीय समितिको काम कारबाही प्रभावकारी हुन नसकेको, भारतले दैनिक उपभोग्य वस्तु खरिदमा अवरोध तथा अपमानपूर्ण व्यवहार गरेको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

यसैगरी सांसदहरुले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयनसम्बन्धी कार्यक्षेत्रमा हस्तक्षेप भएको, नेपालभित्र उत्पादित वस्तुको बजारीकरण हुन नसकेको, सवारी दुर्घटना बढिरहेको, सहकारी ठगीका दोषीलाई कारबाही हुन नसकेको र भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या साधान हुन नसकेको बताउनुभयो । 

प्रतिनिधिसभाको आजको बैठक जारी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button