तपाईँ सुन्दै हुनुहुन्छः

चिन भ्रमणले नेपाल र चीनबिचको आपसी समझदारी थप गहिरो : उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एव परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चिन भ्रमणले नेपाल र चीनबिचको आपसी समझदारी थप गहिरो भएको र नेपाल र चीनको सद्भावले थप उचाई प्राप्त गरेको बताउनु भएको छ ।

प्रतिनिधिसभामा उठेका विषयमा जवाफ दिँदै मन्त्री श्रेष्ठले चीन र नेपालबीच कृषि, पर्यटन जलविद्युत, पूर्वाधार र प्रविधि हस्तान्तरणका विषयमा ठोस आयोजनाहरू बनाई कार्यान्वयन गर्दै जाने विषयमा सहमति भएको जानकारी गराउनु भयो ।

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल चीन सिमानामा रहेका विभिन्न परम्परागत सीमा नाका खोल्न चीन सहमत रहेको समेत जानकारी गराउनु भएको छ । 

परराष्ट्रमन्त्री श्रेष्ठले आफ्नो चीन भ्रमणका क्रममा उच्चस्तरीय छलफलमा भएका सहमतिका विषयहरूलाई चिनको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको विषयमा आधिकारिक जानकारी सार्वजनिक गरेको समेत बताउनुभयो । 

परराष्ट्रमन्त्री श्रेष्ठले भ्रमणका क्रममा आपसी सहयोग र सहकार्यका क्षेत्रमा विस्तृत र स्पष्ट छलफलहरू भएको र यसले नेपाल र चीनबीचको सदियौँ पुरानो बहुआयामिक र मित्रवत् सम्बन्धलाई थप प्रगाढ र सुदृढ बनाउन मद्दत गरेकोमा आफू विश्वस्त रहेको परराष्ट्रमन्त्री श्रेष्ठले स्पष्ट समेत पार्नुभयो ।

परराष्ट्रमन्त्री श्रेष्ठले नेपालले दुई छिमेकी राष्ट्र चीन र भारत दुवै देशसँगको सम्बन्धलाई प्राथमिकतामा राखेर अगाडी बढिरहेको भन्दै भारतसँग रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई अझै प्रगाढ बनाएर अगाडी बढ्नु आवश्यक रहेको बताउनुभयो ।

तीव्र विकासको पथमा अगाडी बढिरहेको भातसँग पनि आर्थिक साझेदारी र सहयोगात्मक सम्बन्धलाई बढाएर नेपालको विकास प्रक्रियामा लाभ लिन सक्नुपर्ने उल्लेख गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले भारतसँग पनि छलफल र समझदारी गरेर अगाडी बढ्ने सरकारको नीति रहेको बताउनुभयो ।  

परराष्ट्रमन्त्री श्रेष्ठले भारतमा लोकसभा चुनाव तयारी भइरहेकाले अहिले नै उच्चस्तरको भारत भ्रमण गरिहाल्ने अवस्था नरहेको भएपनि भारतसँग पनि दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने गरी गम्भीर र हार्दिकताका साथ छलफल गरेर अगाडी बढ्ने समेत सदनमा जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button