तपाईँ सुन्दै हुनुहुन्छः

पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन सुरु

काठमाडौँ । पाटन संयुक्त क्याम्पसको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन आजदेखि सुरु भएको छ । ‘फर्स्ट इन्टरनेसनल कन्फरेन्स अन इकोनोमिक्स, २०२४’ (एफआईसीई २०२४) शुक्रवारसम्म चल्नेछ । 

क्याम्पसको अर्थशास्त्र विभागको नेतृत्वमा आयोजित सम्मेलनमा नेपालसहित भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, सिङ्गापुर र मलेसियाबाट प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वको सहभागिता छ । अर्थशास्त्रको विकास क्रममा पछिल्लो समय जलवायु परिवर्तन तथा श्रम आप्रवासन जस्ता नयाँ विषय जोडिएको छ । 

विकासको सवालमा नवीन सोच र तयारी तथा नवीन ज्ञानार्जन र शेयर गर्ने उद्देश्यले सम्मेलन गरिएको विभागका प्रमुख रघुवीर विष्टले बताउनुभएको छ  । सम्मेलनको मुख्य विषय ‘न्यु इमर्जिङ डाइनामिक्स अन इकोनोमिक्स’ रहेको छ । जुन विषय वस्तुमा तयार कूल ३८ अनुसन्धान पत्रमा ११ प्राविधिक सत्र प्रस्तुत हुँदैछन् । 

पहिलो दिन आज छ सत्र सम्पन्न हुँदैछ । सम्मेलनमा दुई विज्ञ वक्ताबाट ‘किनोट लेक्चर’ र पाँच विज्ञ सम्मिलित एक प्यानल छलफल हुने आयोजक समितिले जनाएको छ । सम्मेलनमा कूल एक सय ५० जनाको सहभागिता रहेको छ । सम्मेलनले विकासका नयाँ मुद्दामाथि छलफलमार्फत ज्ञानार्जनमा टेवा पुग्ने तथा नीति निर्माणमा स्पष्टता र दूरदर्शिता विकास गर्न सघाउ पुग्ने लक्ष्य लिएको विष्टले बताउनुभयो ।

“विकासको एजेण्डालाई नवसिर्जित मुद्दासँग अङ्गीकार गर्दै अर्थतन्त्र विस्तारमा गुणात्मकता र स्थायित्व कायम गर्ने नयाँ आयामको खोजी सम्मेलनले गर्नेछ,” विष्टले भन्नुभयो । अर्थविद् डा लक्ष्मणसिंह कुमारले विभिन्न विभागबाट प्राप्त सहयोगको कदर गर्दै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नेहरूप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । 

आर्थिक मन्दी, जलवायु परिवर्तन, तरलता समस्या र घट्दो घरेलु उत्पादन जस्ता मुख्य चुनौती देखिएको उहाँको भनाइ छ । कार्यक्रममा वक्ताहरूले अर्थतन्त्रमा देखिएको चुनौती सामनाका लागि तथा बजारको माग पूरा गर्न र घट्दो उपभोगको असरलाई न्यूनीकरण गर्न स्वदेशी उत्पादन बढाउनुपर्नेमा जोड दिनुभएको छ । 

उहाँहरूले अर्थतन्त्रमा उदीयमान समस्यालाई सम्बोधन गर्न सामूहिक प्रयासको लागि आह्वान गर्नुभएको छ । रुस–युक्रेन द्वन्द्व र आर्थिक गतिशीलतामा यसको प्रभाव जस्ता विश्वव्यापी मुद्दा समाधान गर्न राष्ट्रहरुबीचको दिगो विकास र सहयोगमा ध्यान केन्द्रित गर्न समेत उपस्थित अर्थविद्को माग छ ।

सम्मेलनमा त्रिभुवन विश्वविद्यालयसँगै काठमाडौँ, पोखरा एवं सुदूरपश्चिम विश्वविद्यालय र उल्लेखित विश्वविद्यालयका विभिन्न आङ्गिक एवं सम्बन्धनप्राप्त क्याम्पस तथा विभागको प्रत्यक्ष संलग्नता रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button