तपाईँ सुन्दै हुनुहुन्छः

आँगनमै खानेपानी पुगेसंगै फेरिँदै दिनचर्या  


पाँच वर्षमा हिमाका २१ वटै बस्तीमा एकघर एकधारा पुराउने लक्ष्य, एकैवर्षमा ९ गाउँका ७७६ घरमा पुग्यो धारा

जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले सुरुदेखिनै खानेपानीको विकासमा पर्याप्त लगानी गर्न थालेपछि हिमाबासीको दिनचर्या फेरिएको छ । एक गाग्री पानी ल्याउन खोलामा पुग्नु पर्ने,घण्टौँ लाइन कुर्नु पर्ने,सिँचाई त परै जावस पिउन,सरसफाई गर्न समेत दैनिक पानीको अभाव झेल्दै आएका हिमा गाउँपालिकाका घरघरमा खानेपानी धारा पुगेपछि स्थानीयको दिनचर्या फेरिन थालेको हो । 

मानव जीवनको अभिन्न अङ्ग र आधारभूत आबश्यकताका रुपमा रहेको खानेपानी विकासमा हिमा गाउँपालिका र त्यहाँ सञ्चालित सुष्वा परियोजनाले माटो रकम लगानी गरेपछि एक  दर्जनबढी गाउँमा एकघर एक धारा पुगी सकेको छ भने पाँच वर्षमा हिमाका ७ वटै वडाका २१ वटै बस्तीमा शुद्ध खानेपानी धारा पुराउने पालिकाले लक्ष्य लिएको छ । 

खोला,नदीको पानी पिउँदै करिब पाँच दशक बिताई सकेकी हिमा–५ बाजागाड गाउँकी छुमकली रावत आँगनमै धारा पुग्दा दङ्ग हुनुहुन्छ । खोलाकै दूषित पानी पिउँदै र बोक्दै दशकौँ बित्यो । स्रोत भएर पनि गाउँमा धारा नहुँदा पानीका दुःख थिए । उहाँले भन्नुभयो,‘ढिलै भएपनि आँगनमै धारो पुग्यो । आधी जोवन खोलाकै पानी पिएर गइसक्यो । अब केही सुबिस्ता हुने भयो । छोरा नातीले पानीको दुःख नभोग्या भए ।’

आँगनमै खानेपानी पुगेपछि खुशि हुँदै वृद्धा

छुमकली जस्तै हिमा गाउँपालिका विभिन्न गाउँका सयौँ नागरिक घर आँगनमा धारा पुग्दा उत्साहित छन् । सुष्वा परियोजना र हिमा गाउँपालिकाको लगानीमा हिमाका ९ नौ गाउँका ७ सय ७६ घरधुरीमा एकघर एकधारा निर्माण भएका छन् । जसमा सुष्वा परियोजनाको लगानीमा बाँजागाडा गाउँमा १३६ घरधुरीमा ७६ लाख बढीको लगानीमा  एकघर एकधारा निर्माण भएका छन् । भने वडा नं.१ बड्की गाउँका १ सय ६६ घरधुरी र वडा नं. ६ को डाडाबाडा गाउँका ७४ घरधुरीमा एकघर एकधारा पुगेको सुस्वा परियोजना संयोजक सुमित्रा शाहीले बताउनुभयो । उहाँका अनुसार तीन गाउँका २ हजार ४ सय १९ जनसख्या  आयोजनाबाट लाभान्वित भएका छन् ।

त्यस्तै हिमा गाउँपालिकाको आफ्नै लगानीमा पाँच वर्षभित्र ७ वडाका २१ वटै बस्तीमा एकघर एकधारा निर्माण गर्ने लक्ष्य लिएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताउनुभयो ।  उहाँका अनुसार बितेको एक वर्षमा मात्रै हिमा वडा नं. ४ का सानो चिउडी गाउँका २६ घरधुरी,खेतुका ८३,सिम्तलीका ५८,जार्जीका ८४,तलिकुडुका १२८ घरधुरीमा र वडा नंं ७ को ठुलो चिउडीका ८३ घरधुरीमा एकघर एकधारो पुगेको छ । 

हिमाका ३ सय ७६ घरधुरीमा एकघर एकधारो पुराउन सुष्वा परियोजनाले झण्डै २ करोड ३६ लाख ७ हजारबढी बजेट खर्चिएको छ । जसमा बाजागाडा गाउँमा ७५ लाख ८९ हजार १ सय ६० रुपैयाँ,बड्की गाउँमा १ करोड ११ लाख ६६ हजार १ सय ९७ रुपैयाँ र डाडाबाडा गाउँमा १६ लाख ९ हजार २ सय ८३ रुपैयाँ खानेपानी विकासका लागि लगानी गरेको छ भने हिमा गाउँपालिकाले पनि खानेपानी विकासमा लगानी बढाएको छ ।

दैनिक पानीको अभाव झेल्दै आएका हिमा गाउँपालिकाका घरघरमा खानेपानी धारा पुगेपछि स्थानीयको दिनचर्या फेरिन थालेको छ  

पालिकाका सबै बस्तीमा एकघर एकधारा पुराउन चालु आवमा ३ करोड ७६ लाख लागतको बृहत्त हिमा खानेपानी आयोजना निर्माण गर्न थालिएको अध्यक्ष शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘पाँच वर्षमा पालिकालाई खानेपानी युक्त पालिका बनाउने सोचका साथ खानेपानी विकास परियोजना र पालिकाको लगानी बढाउदैँ छौ । हरेक वर्ष खानेपानीमा प्राथमिकता हुन्छ । खेर गएको पानीको प्रयोग हुने,महान् संरक्षण हुने, नागरिकले सुविधा पाउने अपेक्षा सहित खानेपानी विकासमा लागेका छौ ।’

वातावरण संरक्षण बिना खानेपानी विकासमा अपेक्षित उपलब्धी हासिल गर्न नसकिने भन्दै हिमाले ग्रिन रिभर,ग्रिन हिमाको नीति अन्तरर्गत २ लाख ५० हजार बिरुवा रोप्ने अभियान समेत थालेको छ । नेपालको संविधान २०७२ को भाग ३ को मौलिक हक अन्तरर्गत धारा ३५ को उपधारा ४ मा प्रत्यक नागरिकलाई स्वच्छ र सफा खानेपानी तथा सरसफाईमा पहुँचको हक हुने उल्लेख छ । उक्त हकको प्रत्याभूति दिलाउन हिमाले खानेपानी विकासमा लगानी बढाउँदै आएको प्रमुख प्रशासकीय अधिकृत रण बहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार कुनै पनि नागरिक शुद्ध खानेपानीको पहुँचबाट वञ्चित नहुनु भन्ने संविधानको परिकल्पनाअनुसार हिमाले खानेपानीमा काम गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button