तपाईँ सुन्दै हुनुहुन्छः

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा  खर मयुर गणना सुरु

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सङ्कटापन्न खर मयुर गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा निकुञ्जसँगको सहकार्यमा नेपाल पन्छी संरक्षण सङ्घले विश्वमा दुर्लभ मानिएको  खर मयुर गणना थालेको हो ।

निकुञ्ज, नेपाल पन्छी संरक्षण सङ्घ, नेपाली सेना, शुक्लाफाँटा गाइडएशोसिएन, चरा विज्ञलगायत गरी २० जनाको टोली गणनका लागि खटिएको छ । निकुञ्जभित्रका शुक्लाफाँटा, करैया फाँटा, राधापुर फाँटा, मोहनपुर फाँटलगायत क्षेत्रमा स्वीप विधिको प्रयोग गरी खर मयुर गणना सुरु गरिएको निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताउनुभयो ।

“निकुञ्जसँगै जोडिएको किसान मध्यवर्ती सामुदायिक वनभित्र पनि गणनको हुन्छ”, उहाँले भन्नुभयो, “खर मयुर गणनाका लागि छनोट गरिएका घाँसे मैदानलाई छ वटा ‘ब्लक’मा विभाजन गरी आजदेखि १० दिनसम्म गणना गरिनेछ ।”विगतमा खर मयुर पाइएका क्षेत्रलाई आधार मानेर गणनाका लागि स्थान छनोट गरिएको जानकारी दिँदै उहाँले  ‘स्वीप’ विधिअन्तर्गत मानव साङ्लो बनाएर गणना गरिने बताउनुभयो । 

“जेडएसएल नामक संस्थाको सहयोगमा ‘क्यामेरा ट्र्यापिङ’का माध्यमबाट पनि १५ दिनसम्म गणना गरिने छ”, संरक्षण अधिकृत ऐरले भन्नुभयो, “यसका लागि निश्चित दूरीमा स्वचालित क्यामेरा जडान हुनेछ । ”मयुर गणना हुने स्थानमा ‘टावर प्वाइन्ट’ राखेर ‘क्यामेरा, टेलिस्कोप, वाइनाकुलर’को सहायताले खर मयुरको सङ्ख्या यकिन गरिने नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताउनुभयो । 

उहाँका अनुसार मार्च महिनाको अन्तिम हप्तादेखि अप्रिल महिनाको पहिलो हप्तासम्म प्रत्येक वर्ष सङ्घले निकुञ्जसँग सहकार्य गरी खर मजुर गणनाको गर्दै आएको छ । घाँसे मैदानमा घाँस छोटो हुने भएकाले यसबेला खर मजुर देखापर्ने गर्दछन् । खर मयुरको प्रजनन समय  भएकाले तिनलाई देखिने चराविज्ञ डगौराले बताउनुभयो । “खर मजुरको प्रजनन समय साँझ– बिहान भएकाले गणनाका लागि बिहान ६ बजेदेखि १० बजेर ३० मिनेट र साँझ ३ बजेदेखि ६ बजेर ३० मिनेटको समय निर्धारण गरेका छौँ”, उहाँले भन्नुभयो ।“नेपाल–भारत, भियतनाम र कम्बोडियामा गरी दुई सय ५० देखि नौ सयसम्म खर मजुर पाइने गर्दछ”, उहाँले भन्नुभयो, “यो अति सङ्कटापन्न प्रजातिका रुपमा रहेको छ, संरक्षणका लागि भरपर्दो कार्य नगरिए आगामी केही दशकमा यी लोप हुने अवस्था छ ।”

खर मजुरको बासस्थान भनेकै घाँसेमैदान हो । अतिक्रमणको चपेटमा परेर मासिँदै जानु, प्रतिवर्ष हुने आगलागीले खर मजुरको बासस्थान मासिँदै जानु चिन्ताको विषय भएको उल्लेख गर्दै उहाँले गणनाका क्रममा बासस्थानको अवस्था, आहाराको अवस्था लगायतबारे अध्ययनको गरिने बताउनुभयो । खर मजुर शुक्लाफाँटा, चितवन, बर्दिया राष्ट्रिय निकुञ्जसँगै कोसीटप्पु वन्यजन्तु आरक्षमा पाइन्छन् । नेपालका यी संरक्षित क्षेत्रमा ६० देखि एक सयको सङ्ख्यामा खर मयुर रहेका अनुमान छ । संरक्षण अधिकृत ऐरका अनुसार गत वर्षको गणनामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाँच वटा मात्रै खर मजुर फेला परेका थिए । त्यसको अघिल्लो वर्ष सात वटा फेला परेका थिए । सबैभन्दा बढी कोसीटप्पु वन्यजन्तु आरक्षमा २२ वटा खर मजुर फेला परेका थिए ।

“वर्षाका बेला घाँसे मैदानमा पानी भरिने भएकाले निकुञ्ज नजिकैका उकासका क्षेत्रमा खर मयुर बस्ने गर्छन्”, अधिकृत ऐरले भन्नुभयो, “वर्षा याम सकिएपछि पुनः घाँसे मैदानमै फर्कने गर्छन् ।”

खर मयुर सिरु जातको खरले ढाकिएका मैदानमा बस्ने, त्यही गुँड लगाएर चल्ला हुर्काउने गर्छन् । खरमा बस्ने भएकाले यो प्रजातिका मयुरलाई खर मयुर भनिएको उहाँले बताउनुभयो । खर मजुरसँगै निकुञ्जमा चार सय ५४ प्रजातिका चरा पाइन्छन् । खर मयुरलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित पन्छीका रुपमा सूचीकृत गरेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button