तपाईँ सुन्दै हुनुहुन्छः

तीन जनालाई ‘वानीरा पुरस्कार’ समर्पण गर्ने निर्णय

काठमाडौँ । सात दशकदेखि सिर्जनामा समर्पित रही विशेषतः कविता, कथा, उपन्यास र समालोचनाको संवृद्धिमा उल्लेख्य योगदान पुर्‍याएबापत प्रा.पुष्कर लोहनीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

त्यसैगरी नेपाली रङ्गमञ्च तथा चलचित्र कलामा विगत छ दशकदेखि निरन्तर समर्पित रही नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेबापत नाट्य भूषण श्री मदनदास श्रेष्ठलाई ‘वानीरा शङ्कर पुरस्कार’ समर्पण गरिने भएको छ ।

यी दुवै पुरस्कारका राशि जनही एक लाख रुपियाँ रहेको छ ।

साथै कथा र कविताको सिर्जनामा समर्पित रही नेपाली साहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत श्रीमती अनिता तुलाधरलाई पचास हजार रुपियाँ राशिको ‘वानीरा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ।

नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीको ८१ औँ जयन्तीका अवसरमा आगामी वैशाख २८ गते काठमाडौँको मीनभवनस्थित वानीरा फाउन्डेसनको सभाकक्षमा यी पुरस्कारहरू समर्पण हुनेछन् ।

वानीरा फाउन्डेसनका संस्थापक, संरक्षक तथा दाता ई.शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईँको अध्यक्षतामा आज बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button